भारत जाने युवा तेस्रो मुलुकतिर

वर्ग: रोजगार
मिति: Tuesday,4th September 2012 04:41 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com



डडेलधुरा, १८ भदौ - रोजगारीका लागि भारत जाने अधिकांश युवा आजभोलि खाडीलगायत आकर्षक मुलुक जान थालेका छन् ।
जिल्लाका २० गाविस र एक नगरपालिकाका युवा गाउँमा रोजगारी नपाएपछि खेतीपातीको समयलाई ख्याल गर्दै ६ महिने रोजगारी गर्न भारत जाने गर्थे । भारतका ठूला सहर अमृतसहर, पञ्जाब, लुधियाना, बरेली, हल्दावानी, दिल्लीतिर गए पनि भरपर्दो अर्थोपार्जन नहुने देखेपछि उनीहरू खाडीलगायत मुलुकतिर सोझिएका हुन् ।
१३ वर्षको उमेरमा लुधियनास्थित एक कोठीमा काम गरेका सुरेश बोहरा ३० वर्ष लागेपछि मलेसिया जाने चक्करमा छन् । १ सय १० परिवार संख्या रहेको अमरगढी फन्नेकोट गाउँका अधिकांश साथीसंगी भारतको नोकरी छाड्दै मलेसिया, साउदी अरब, दुबई, कतारजस्ता मुलुक जान थालेपछि उनले पनि राहदानी बनाएर ठिक्क पारेका छन् । “मेरै गाउँका ५० जना साथीहरू खाडीतिर गएपछि म पनि कस्सिएँ,” राहदानी बनाउन आएका बेला बोहराले भने ।
अमरगढीका फन्नेकोट, गणेशपुर, कोटेली, मणिलेक, नवदुर्गा, बेलापुर, भागेश्वरको तल्लो गाउँ र मल्लो गाउँका साथै जिल्लाका अधिकांश गाविसका युवा भारत जाने गरे पनि अहिले धेरै कम भएको गौरीफन्टा, गड्डाचौकी भन्सारका कर्मचारी बताउँछन् ।
पछिल्लो समय तेस्रो मुलुकका लागि पासपोर्ट बनाउन प्रशासन कार्यालयमा भीड बढेको सुब्बा चेतराज भट्टले बताए । “तीन वर्षअघि पासपोर्ट बनाउने युवाको तुलनामा अहिले आकाशपातालको फरक छ,” उनले भने, “पहिले नागरिकता बनाउनेको भीड हुन्थ्यो, अहिले पासपोर्टको ।”
कात्तिकको हिउँदेखेती र वर्षायामको रोपाइँ भ्याएर भारत जाने गरेका युवाहरू हिजोआज आमाबाबुलाई घरको काम जिम्मा लगाउँदै विदेश जान थालेको स्थानीय शिक्षक लोकेन्द्र विष्टले बताए । “नजिकका भारतीय सहरमा रोजगारी गर्न जाने र दसैंमा आफन्तका लागि लुगाफाटो ल्याई फर्कनेबाहेक केही उपलब्धि थिएन,” उनले भने, “अहिले खाडी र अन्य मुलुक जान थालेपछि रेमिट्यान्स पनि बढेको छ ।”
भारतका कोठीमा काम गर्दा नेपालीले मासिक ७ हजार हाराहारीमा मात्रै पारिश्रमिक बुझ्ने गरेको गणेशपुरका रामचन्द्र जोशीले बताए । “७ हजारले घरपरिवारको आवश्यकता कहिल्यै पूरा हुन सक्दैनथे,” उनले भने, “दिनदिनै महँगी बढ्दै गएको छ, त्यो तलबले चाडपर्वमा खाद्यान्न र लुगाफाटो किन्नबाहेक केही गर्न सकिदैनथ्यो, अहिले अवस्था फेरिँदै छ ।”
पाँच वर्षसम्म मलेसियामा काम गरेपछि आफ्नो जीवनमा पनि आर्थिक परिवर्तन आएको जोशीले बताए । पाँच वर्षमै मलेसियाबाट ६ लाख रुपैयाँ कमाएर कैलालीको गेटामा घरेडीसमेत किनेका जोशीले भने, “भारत गएको भए ६ लाख कमाउन २० वर्षभन्दा बढी लाग्थ्यो ।” श्रीमतीसहित सात छोराछोरीलाई पढाउनसमेत सफल भएकोमा उनी खुसी छन् ।
जिल्ला तथ्यांक कार्यालयको सर्वेक्षणले अहिले पनि डडेलधुराबाट ५० हजार हाराहारीमा युवाहरू भारतका विभिन्न सहरमा रहेको देखाएको छ । आकर्षक श्रम गन्तव्य दक्षिण कोरियामा ३ सय र अन्य खाडी मुलुकमा २ हजारजति युवा कार्यरत रहेको कार्यालयले जनाएको छ । डडेल्धुराबाट सात वर्षयतामात्रै विदेश जाने क्रम बढेको सरोकारवाला बताउँछन् ।
 

  • सम्बन्धित समाचार
Comments