भोकभोकै १८ घण्टा काम
काठमाडौं, २५ भदौ - संयुक्त अरब इमिरेट्स (यूएई)मा घरेलु काममा कार्यरत महिला कामदार (हाउसमेड)ले भोकभोकै दैनिक १८ घण्टाभन्दा बढी काम गरिरहेको घटना सार्वजनिक भएको छ । रोजगारदाता (स्पोन्सर)ले खान र पारिश्रमिक नै नदिई काममा लगाइरहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासले उद्धार गरेका महिला कामदारले आफूहरूलाई भोकभोकै काममा लगाउने गरिएको बताएका हुन् । दूतावासले वैदेशिक रोजगार विभागलाई यससम्बन्धी विवरण पठाएको छ । “नेपाली महिलाले साहुको घरमा बढी काम गर्ने तर पारिश्रमिक नपाउने समस्या छ,” विवरणमा छ ।
दूतावासले दुई वर्षभित्र १ सय ६६ महिला कामदारलाई उद्धार गरी नेपाल फर्काइसकेको छ । अझै सात जना फर्काउन बाँकी छ । तीमध्ये अधिकांश महिला रोजगारदाताका विभिन्न शोषणमा परेका छन् । उनीहरू दलालमार्फत भारत बाटो हुँदै यूएई गएका थिए ।
“साहुको घरमा बढी समय काम गर्नुपर्छ तर भोकभाकै बस्नुपर्ने बाध्यता छ,” काठमाडौंकी मीना तामाङलाई उद्धृत गर्दै विवरणमा भनिएको छ, “पारिश्रमिक माग्दा विभिन्न धम्की दिइन्थ्यो । नेपालमा हप्तामा एक पटक फोन गर्छु भन्दा पनि दिँदैनथे । काम गर्न नसकेपछि म भागें र दूतावासको शरणमा आएँ ।” दूतावासले उद्धार गरी उनलाई नेपाल फर्काइसकेको छ ।
संखुवासभाकी ममता राई पनि यही समस्याले भाग्न बाध्य भइन् । दैनिक लगातार १६–१७ घण्टाभन्दा बढी काम गर्दा पनि तलब नपाएपछि उनी भागेर दूतावासको शरणमा आइन् । उनलाई घरमा फोन सम्पर्क गर्न पनि नदिएको विवरणमा उल्लेख छ ।
विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले दलालमार्फत भारत हुँदै गएका महिला विभिन्न समस्यामा पर्ने गरेको बताए । “महिलाहरू साहु वा स्पोन्सरबाट बढी शोषित भई पीडित हुनु परेको छ,” उनले भने ।



