महँगो मेलम्ची सपना
डेढ दशकपहिले जब मेलम्ची खानेपानी आयोजनाका बारेमा अवधारणा ल्याइएको थियो, त्यसबेलामा काठमाडौं उपत्यकावासीहरूमा ठूलो आशा र अपेक्षा पलाएको थियो । तत्कालीन नेपाल खानेपानी संस्थानले आपूर्ति गर्ने अत्यन्तै थोरै अनुपातको पानी उपत्यकाको प्यास बुझाउन अपर्याप्त नै थियो । दैनिक ३० करोड लिटर पानी आवश्यक भएको राजधानीको प्यास मेटाउन शक्तिशाली माध्यमका रूपमा मेलम्चीलाई प्रस्तुत गरिँदै आइएको छ । उपत्यकामा शुद्ध खानेपानीको आपूर्ति राजनीतिक नारासमेत बन्दै आएको छ । कृष्णप्रसाद भट्टराईले मध्यावधि चुनावको समयमा मेलम्चीको पानी ल्याएर उपत्यकाको सडक पखाली दिनेसम्म राजनीतिक भाषण गरे । सडक पखाल्ने त परै जाओस्, तर आयोजना सुरु भएको १७ वर्ष बितिसक्दा पनि राजधानीका धारामा अझै हावामात्रै झर्छ । मेलम्चीमा लगानी गर्छु भनेर अघि सरेको मुख्य दाता एसियाली विकास बैंक (एडीबी) को सर्त उपत्यकाको खानेपानी व्यवस्थापनलाई खानेपानी संस्थानबाट अलग गरियो र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) स्थापना गरियो । केयुकेएलले खानेपानीको वितरण तथा व्यवस्थापनको मूल दायित्व लिएको छ, तर यो निकाय गठन भएपछि उपत्यकामा आपूर्ति सहज गर्ने नाममा महसुल वृद्धिबाहेक खासै सुधार हुन सकेन । २०५५ सालमा छुट्टै मेलम्ची खानेपानी आयोजना स्थापना गरी यसको निर्माण–प्रक्रिया थालिए पनि यो आयोजना कहिले पूरा हुने हो कुनै टुंगै छैन, किनकि अहिलेसम्म तीन पटक यसको समयतालिका परिर्वतन भइसकेको छ । आव ०५८÷५९ देखि भौतिक निर्माण थालिएकोमा सुरुमा ०६४÷६५ भित्र आयोजना सम्पन्न भइसक्ने लक्ष्य राखिएको थियो, तर प्रगति नभएपछि यसलाई बढाएर ०६८÷६९ पु¥याइयो, संशोधित समयभित्र पनि ठोस प्रगति नभएपछि ०७०÷७१ (सन् २०१३) भित्र पूरा गर्ने नयाँ समयतालिका छ, तर हालसम्मको प्रगतिको गति हेर्दा यो अवधिमा पनि आयोजना पूरा नहुने निश्चित नै छ ।
आयोजनाको सुरुङ मार्ग बनाउँछु भनेर जिम्मा लिएको चीनको रेल्वे–१५ ब्युरो ग्रुप कर्पोरेसन काम बीचैमा छाडेर भागिसकेको छ । काठमाडौँबाट ७५ मिलोमिटर उत्तरपूर्वमा रहेको मेलम्ची खोलाको पानी सुरुङमार्फत सुन्दरीजलमा ल्याई त्यहाँको रिजर्भवायरमा खसाउने लक्ष्य राखिएको थियो । चिनियाँ ठेकेदारले आयोजनाको सबैभन्दा महŒवपूर्ण संरचनाका रूपमा रहेको सन् २०१३ को सेप्टेम्बरमा सुरुङ निर्माणकार्य सम्पन्न गर्ने सर्तमा ठेक्का सम्झौता गरेको थियो । कुल २६.५ किलोमिटर सुरुङ बनाउने जिम्मा लिएको चिनियाँ ठेकेदारले तीन वर्षमा जम्माजम्मी ६ किलोमिटरमात्र बनाएको छ । चिनियाँ कम्पनी भागेपछि सरकारले नयाँ टेन्डर आह्वान गरेको छ, तर जतिसुकै छिटो प्रक्रियाबाट निर्माण ठेक्का दिइए पनि अबको तीन वर्षभित्रमा बाँकी २०.५ किलोमिटर सुरुङ निर्माण हुन सम्भवै छैन । आयोजनाको अर्को ठूलो काम सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गर्नु हो । यसपछि उपत्यकाको वर्तमान खानेपानी वितरण सञ्जालमा सुधार पनि उत्तिकै आवश्यक छ । यी सबै कामलाई पहिलो प्राथमिकतामा राखेर द्रुतत्तर ढंगले निर्माण प्रक्रिया अघि बढाउने हो भने पनि लक्षित अवधिमा राजधानीवासीले मेलम्चीको पानी खान पाउनेछैनन् ।
अहिलेसम्मको काम गर्ने शैली र प्रगति हेर्दा मेलम्ची केवल राजधानीवासीलाई सपना देखाउने, सत्ताधारी दलका प्रभावशाली नेताहरूका आफन्तलाई र विदेशी परामर्शदातालाई जागिर ख्वाउने बाटोमात्रै बनेको छ । आयोजनाको हालसम्मको प्रगति विवरण हेर्दा वास्तविक कामको तुलनामा परामर्शदाताको खर्च अत्यधिक छ । कुल २७ अर्ब रुपैयाँको लागत रहेको मेलम्ची आयोजनामा हालसम्म ऋण दाताहरूका परामर्शदाताले ६ अर्ब रूपैयाँ फिर्ता लगिसकेका देखिन्छ । मेलम्चीको प्रभाव क्षेत्रका बासिन्दालाई पुनस्र्थापना र अन्य नाममा गरिएको भुक्तानीसमेत जोड्दा मेलम्ची राजधानीवासीको महँगो सपना सावित भएको छ ।



