रमझम तीज

वर्ग: अर्थरंग
मिति: Friday,14th September 2012 01:18 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameक्यालेन्डरमा असोज २ गते तीज ‘मार्क’ छ तर सहरमा महिनौं अघिदेखि तीजको चहलपहलले बजार तताएको छ । सबै वर्गका महिलालाई छुने तीजको नाचूँनाचूँ लाग्ने मौसममा नाच्ने–गाउने र दर खाने मात्र होइन, मन फुकाएर सपिङ गर्नेको जमात पनि उस्तै तातेको छ ।
सहरी र ग्रामीण दुवै परिवेशका महिलाले तीजलाई समान रूपमा लिए पनि ‘सपिङ कल्चर’ सहरी परिवेशमा बढी छ । काठमाडौंका न्युरोड, दरबारमार्ग, वटुदेखि सपिङ मलसम्म तीजको किनमेलमा हतारिएका महिलाको ताँतीले सहर नै रंगीचंगी छ ।
तीजलाई लक्षित गरी व्यवसायीले १५ देखि ५० प्रतिशतसम्म छुट दिएपछि ग्राहकको भीड बढेको व्यवसायीको अनुभव छ । फेस्टिबल मुडमा रहेका महिलाले तीज बजारलाई चम्काइदिएका छन् । विगतमा भन्दा पहिरन र सौन्दर्य सामग्रीको व्यापार ५० प्रतिशतले बढेको व्यापारीको अनुभव छ । सुनका गहना व्यापार उल्लेखनीय नभए पनि नयाँ ग्राहक थपिँदै गएको सुन व्यवसायी बताउँछन् ।
सौन्दर्य साम्रगी, पहिरनदेखि गहनासम्मको सपिङले भर्खर वर्षापछिको व्यापारलाई पनि राहत पु¥याएको छ । चाडपर्वको मौसम सुरु हुन लागेकाले पनि व्यापारमा सकारात्मक असर परेको हो । विभिन्न पेसा तथा व्यवसायमा रहेका महिलादेखि मध्यम र निम्न वर्गका महिलाले पनि तीजका लागि सपिङ गरिरहेको व्यापारी बताउँछन् । विशेषगरी तीजमा महिलाले पहिरन र गहना खरिद गर्छन् । रातो र हरियो साडीको व्यापार उल्लेख्य हुन्छ । त्यसपछि तिलहरी र गहना पर्ने भए पनि अहिले सुन महँगिएर गहनाको बजार सुस्ताएको छ ।
“अहिले सुनको मूल्यले दिनदिनै रेकर्ड ब्रेक गरिरहेको छ, त्यसैले सुनका गहना धेरै बेच्न सकिएको छैन,” न्युरोडस्थित अश्री ज्वेलर्सका सञ्चालक रवि श्रेष्ठ भन्छन्, “तर नयाँ–नयाँ ग्राहक भने थपिएका छन् ।” तीजका Nameलागि अहिले हल्का गहनाको माग बढिरहेको उनले बताए । “सबै गहना पसलले छुट तथा अफर चलाएका छन्, हामीले पनि छुट दिएका छौं,” उनले भने, “खासमा छुटभन्दा पनि हामीले उपभोक्तालाई विश्वसनीय सेवा प्रदान गरेका छौं । गुणस्तर गहना बेचेकाले छुट खोज्नेभन्दा गुणस्तर खोज्ने ग्राहक हामीकहाँ धेरै आएका छन् ।”
बजारमा माग धेरै भए पनि जुन प्रकारले पुग्नुपर्ने हो, त्योअनुसार नभएको उनी बताउँछन् । “सुनको मूल्य बढेरमात्र होइन, बजारमा सुन अभावले पनि यस्तो भएको हो,” उनले भने ।
चाडपर्व नजिकिँदै गर्दा मूल्य बढ्ने र बजारमा वस्तु अभाव हुनाले अपेक्षित व्यापार नभए पनि अघिपछिभन्दा तुलनात्मक रूपमा बढी व्यापार हुने भएकाले व्यापारीलाई भ्याइनभ्याइ हुन्छ । रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्रकुमार गुप्ता भन्छन्, “तीजले गहनाको व्यापारलाई केही राहत पु¥याएको छ, महँगो र अभाव नभएको भए अहिले नयाँ–नयाँ ग्राहक थपिएका बेला व्यापार धेरै राम्रो हुने थियो । सुन अभावकै कारण अब एक तोला सुनको गहना अर्डर लिने अवस्था पनि छैन ।”
रिद्धिसिद्धिले ज्यालामा ३० प्रतिशत छुट र विभिन्न अफर दिइरहेको छ । “नेपाली परम्परा र संस्कृति सुनसँग जोडिएको छ, त्यसैले यसका ग्राहक बढेका छन्, तर एक तोला लिने ठाउँमा आधा तोला बिक्री भइरहेको छ,” उनले भने ।
तीजका कारण सजावटका लागि चाँदीको व्यापार पनि बढेको सिल्भर क्विनका सञ्चालक निलेश जोगानी बताउँछन् । गहनामा सामान्य प्रयोग हुने भए पनि चाँदीका सजावट सामग्रीको प्रयोग बढ्दो रहेको उनले बताए । अहिले हल्का गहनामा छड्के तिलहरी, चारपाटे तिलहरी, श्रीफूल, नत्थी, चुरा, टपको माग बढी छ ।
बजारमा विभिन्न लय तथा संकलनमा तीज गीत घन्किन थालेको महिनौं भयो । गीतसंगीतको व्यापारसँगै नाचगानमा रमाउने महिलाले साडीको व्यापार पनि बढाएका छन् । अहिले साडीको व्यापार ५० प्रतिशतभन्दा धेरै बढेको महाबौद्धका होलसेलर भट्ट ट्रेर्डसका तोया भट्टले बताए ।
“साडीमा पनि इम्ब्रोइडरी गरेर लगाउने चलन बढी छ,” रिब्लुम बुटिक नयाँबानेश्वरकी डिजाइनर लक्ष्मी गिरी भन्छिन्, “अहिले बजारमा फ्रेन्च सिफन, जरजेट, नेट, टिसु साडीका साथै इम्ब्रोइडरी गरिएको सितार, पोते, रेशम धागो, स्टोन बढी चलेको छ । रातो र हरियो साडी लगाउने नै बढी पाइन्छ ।” सामान्य १५ सयदेखि २० हजारसम्मका साडी तीजमा लगाउने गरिएको उनले बताइन् ।
नयाँ बानेश्वरमा रातो साडी छान्दै गरेकी रञ्जन झाले यो पर्व विशेष भएकाले आफूले पनि तीजकै लागि विभिन्न सपिङ गर्दै साडी छान्न लागेको बताइन् । “मेकअपदेखि आवश्यक सबै सामान खरिद गरें,” उनले भनिन् ।
मेकअपको बजार पनि राम्रै रहेको निहारिका शृगांरकी सुनयना थापाले बताइन् । “महिला सौन्दर्यप्रति सचेत हुन्छन्, अघिपछि नर्मल गर्ने मेकअपभन्दा तीजका लागि विशेष हुन्छ, त्यसैले त्यहीअनुसारको व्यापार छ,” उनले भनिन् ।
महिलाले तीजलाई तडकभडक बनाएको आरोप पनि खेप्ने गरेका छन् । हप्तौंअघि दर खानेदेखि सपिङ गर्ने कल्चरले विकृति भित्रिएको आरोप पनि छ । सञ्चारिका समूह पश्चिमाञ्चलकी उपाध्यक्ष जमुना शर्मा (वर्षा) भन्छिन्, “आफ्नो क्रयशक्तिले भ्याएसम्म गरिने सपिङले विकृति भित्रिँदैन तर न्यून क्रयशक्तिका महिलाले त्यसको देखासिकी गर्नु चाहिँ विकृति हो ।”
कामकाजी पुरुषको खर्च तुलनामा गृहिणीको अत्यन्त कम हुने भएकाले तीजमा खर्च गरिने उनी बताउँछिन् । “विकृति रातो साडीमा होइन, सोचमा छ,” उनले भनिन् ।
 

  • सम्बन्धित समाचार
Comments