सहारा खोज्दै शोभा
सुनसरी (भरौल) ३१ भदौ - वैदेशिक रोजगारीमा गएर धन कमाउने सपना बुनेकी सुनसरी भरौलकी शोभाले धन त कमाउन सकिनन्, फर्कंदा गर्भमा बच्चा लिएर आइन् । घर–परिवारको सल्लाहले २०६१ मा साउदी अरब पुगेकी उनी दुई वर्ष बसेपछि नेपाल फर्किन् । चार महिना नेपाल बसेपछि उनलाई फेरि घरपरिवारले कुवेत जाने सल्लाह दियो, उनी गइन् । कुवेतमा बलात्कारको सिकार भएपछि नेपाल आएकी शोभालाई अहिले मानसिक र आर्थिक पीडाले सताइरहेको छ ।
धरानबाट करिब १० किलोमिटर पश्चिमको गाउँ भरौलमा केही नभएको पुरानो र कच्ची घरमा साढे दुई वर्षकी (अपांगता भएकी) छोरी रोजिनासँग बस्दै आएकी शोभालाई अहिले छोरीको उपचार र बिहान–बेलुका खाने समस्याले पिरोलेको छ ।
व्यक्तिगत भिसामा दलालमार्फत कुवेत पुगेकी शोभा कम्पनीबाट काम सकेर कोठामा फर्कंदै गर्दा अज्ञात व्यक्तिबाट बलात्कारको सिकार भएकी थिइन् । यसबाट गर्भ बसेको कुरा कतारमै रहेका श्रीमान् र नेपालमा रहेका आफन्तलाई जानकारी दिएपछि सबैको सल्लाहमा नेपाल फर्किइन् । तर, नेपाल आएपछि घरपरिवारले भौतिक आक्रमण गर्ने र मानसिक यातना दिने गर्न थालेपछि उनी बेसहारा भइन् ।
“मलाई घरपरिवाले नै जबर्जस्ती विदेश पठाएका हुन्,” अँगेनामा आगो फुक्दै शोभाले भनिन्, “गाउँमा धेरै छोरीबुहारी गएर कमाएका छन्, तिमी पनि जाऊ भनेपछि म गएकी हुँ, तर त्यस्तो घटना भयो । यसबारे सबै जानकारी गराएँ । कतारबाट श्रीमान् र नेपालबाट सासूससुराले साथ दिने भने पनि नेपाल आएपछि हेला गर्ने, मार्नेसम्म प्रयास गरे । घरमा बसेका बेला जबर्जस्ती निकाल्ने प्रयास पनि गरे । अहिले घरमा एक्लै छु । श्रीमान् नेपाल आए पनि भेटेनन् । घरका सम्पूर्ण सामान लगेर गए । अहिले केही छैन, कसैले सहयोग गरे मात्र खान पाइन्छ ।” यति भनिसक्दा शोभाका आँसु भरिए ।
सम्पत्तिबाट वञ्चित गर्न खोजेपछि शोभाले श्रीमान् लक्ष्मीप्रसाद घिमिरे, सासू कौशिला र ससुरा बालकृष्णविरुद्ध अंशबण्डाको मुद्दा दायर गरेकी छन् । एक वर्षअघि सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेकी उनी अहिले न्यायको पखाईमा छिन् । मुद्दामा उनलाई सुनसरीस्थित महिला तथा बालबालिका सेवा केन्द्रले सघाएको छ ।
घरपरिवार तथा समाजले शोभालाई मात्र होइन, उनलाई सहयोग पु¥याएको भन्दै छिमेकी भीमा घिमिरेलाई पनि कुटपिट र दुव्र्यहार गरे । निर्मला भन्छिन्, “एक्ली सहाराविहीनलाई सहयोग गर्ने खोज्दा उल्टै मलाई यहाँको समाज र उनका आफन्तले कुटपिट गरे । अहिले साह्रै समस्यामा रहेकी शोभालाई बाँच्न पनि मुस्किल छ ।”
अन्यायमा परेकी शोभालाई आफूहरूले केही साथ दिएको पौरखी संस्था धरानकी चेतना श्रेयङले बताइन् । “उनलाई विभिन्न सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने बाटोमा छौं,” उनले भनिन्, “कानुनी लडाइँमा पनि साथ दिएका छौं ।” वैदेशिक रोजगारीमा जाने महिलालाई अवसर र जोखिम दुवै रहेको बताउँदै श्रेयङले सरकारले महिलाको योगदानलाई स्वीकार गरे पनि कदर नगरेको बताउँदै यस्तो समस्यामा रहेका महिलालाई राज्यस्तरबाटै सम्बोधन गर्नुपर्ने बताउँछिन् ।
हातखुट्टा नचल्ने र आँखा नदेख्ने शोभाकी छोरी रोजिनाको स्वास्थ्य उपचार अभावले दिनप्रतिदिन बिग्रँदै गएको छ । आम्दानी र अन्य स्रोत नहँुदा दैनिक जीविका चलाउन पनि मुस्किल भएको शोभा बताउँछिन् । “कतै काम गर्न जाऊँ¬¬¬– छोरीलाई छाड्नु भएन, आम्दानीको स्रोत पनि छैन, समस्यै समस्या छ,” गला अवरुद्ध पार्दै शोभाले भनिन् ।



