कारोबार संवाददाता
मंगलबार, मंसिर १८, २०७५
335

इटालीको प्रसिद्ध प्रिमियम सुपर मोटरसाइकल निर्माता कम्पनी डुकाटीले २०१९ मोडल प्यानिगेल भीफोर आर भारतमा सार्वजनिक गरेको छ । सो सुपर मोटरसाइकल मूल्यका हिसाबले सामान्य लग्जरी कारभन्दा महँगो रहेको छ । यसको मूल्य ५१ लाख ८७ हजार भारु तोकिएको छ ।
डुकाटी सुपर मोटरसाइकलमा जडान गरिएको फिचर्स अन्य सुपर मोटरसाइकल भन्दा फरक रहेको कम्पनीले दाबी गरेको छ । पावरफुल इन्जिनका साथ उपलब्ध सो मोटरसाइकलको डिजाइनलाई निकै आकर्षक बनाइएको छ । यो मोटरसाइकल प्रतिघण्टा २ सय ७० किलोमिटरको गतिमा कुद्ने कम्पनीको भनाइ छ ।

डुकाटी प्यानिगेल भी४ आर सुपर मोटरसाइकल भारतमा ५ वटा मात्र बिक्री गर्ने कम्पनीले उल्लेख गरेको छ । ती ५ ग्राहकहरुमा ३० नोभेम्बर भन्दा पहिले जसले सो मोटरसाइकल बुकिङ गर्छ, त्यसैले खरिद गर्न पाउने र उसैको माध्यमबाट दोस्रो मोटरसाइकल बिक्री गर्ने व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ । यो सुपर मोटरसाइकल डुकाटी कम्पनीद्वारा तयार पारिएको सबैभन्दा पावरफुल मोटरसाइकल भएको जनाइएको छ ।
यसमा ९९८ सीसी भी४ इन्जिन जडान गरिएको छ, जसले २२१ बीएचपीको पावर र १११ एनएमको टर्क जेनेरेट गर्छ । सो मोटरसाइकलमा ६ स्पिडको म्यानुअल गियरबक्स समावेश गरिएको छ । डुकाटी कम्पनीले सो मोटरसाइकलमा भएको ९९८ सीसी इन्जिन निकै हल्का बनाएको छ । यसमा भएको एयर इन्टेक्स पनि निकै राम्रो बनाएको छ । सो इन्जिनले १६ हजार ५ सय आरपीएममा काम गरेको हुन्छ । सो सुपर मोटरसाइकलको तौल जम्मा १ सय ७२ किलोग्राम रहेको छ ।
डुकाटी प्यानिगेल भी४ आर सुपर मोटरसाइकलको लागि तयार पारिएको ६–एक्सिस बश इनर्सियल मेजरमेन्ट युनिट लगाइएको छ, जसका कारण एबीएस, डुकाटी ट्रयाक्सन कन्ट्रोल, डुकाटी साइड कन्ट्रोल, डुकाटी ह्विली कन्ट्रोल, डुकाटी पावर लन्च, डुकाटी किक शाफ्ट र इन्जिन ब्रेक कन्ट्रोल आदिले सपोर्ट गरेको हुन्छ ।