कारोबार संवाददाता
बुधवार, मंसिर १९, २०७५
337

गण्डकी प्रदेशमा लक्षित गरी हालै पोखरासहितको क्षेत्रमा बिक्री वितरण सुरु गरिएको टम्बो मोवाईलको शनिबार पोखरामा रिटेल मिट आयोजना गरेको छ । गण्डकी क्षेत्रका उक्त मोबाइल विक्रेताहरूलाई शनिबार भेला गराई मोबाइलको बारेमा जानकारी गराइएको शंकराचार्य मोबाइल प्रालि गण्डकी क्षेत्रका सिनियर म्यानेजर सुरेन्द्र खाँडले बताए ।
काठमाडौं, कुरिनटार, धादिङ, बाग्लुङ, गोरखा र पोखरालगायतका क्षेत्रमा यसको सर्भिस सेन्टरहरू रहेको उनले जनाए । उनका अनुसार १ हजार २ सयदेखि १३ हजार मूल्यमा टम्बोका विभिन्न मोबाइल बजारमा उपलब्ध भएको छ । यस ब्रान्डको हरेक फोनमा दुई सय दिनको रिप्लेसमेन्ट (वारेन्टी) र स्क्रिन वा डिस्पेमा एक वर्षसम्म कुनै टुटफुट भएमा निःशुल्क फेरिदिने सुविधा रहेको खाँडले जनाए । उक्त मोबाइलको गण्डकी क्षेत्रको आधिकारीक बिक्रेता न्यूएसपी इन्टरप्राइजेज छ ।

कम्पनीका बिजनेस हेड भुपाल क्षेत्रीले मार्केटमा भएको ग्याप पूरा गर्न गुणस्तरीय सेवासहित टम्बो मोबाइल बजारमा आएको दाबी गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले एक दशकयता मोबाइल फोनको महत्व बढ्दै आएको बताउँदै अझै मोबाइल फोनमा भएको फिचरलाई सबैले राम्रोसँग प्रयोग गर्न नसकेको जनाए । केही मोबाइल व्यवायीहरूले भन्सारमा कर छलि गरी मोबाइल भित्र्याउने गरेकोले त्यस्ता व्यवसायीहरूसँग उपभोत्ताहरूले मोबाइलनकिन्न आग्रह गरे ।
मोबाइल वितरक संघ गण्डकी प्रदेशका अध्यक्ष एवं न्यूएसपी इन्टरप्राइजेजका सञ्चालक शिवराज पहारीले ४ महिनादेखि पोखरासहितको गण्डकी क्षेत्रमा उक्त मोबाइल बिक्री वितरण भएसँगै आफूहरू निकै उत्साहित भएको बताए । संघका उपाध्यक्ष सुशीलकुमार गुरुङले नेपाली बजारमा सबै वर्गको पहुँच हुने गरी कम्पनीले मोबाइल बजारमा ल्याए पनि बिक्री पछिको सेवामा पनि उत्तिकै छिटो सेवा दिनुपर्नेमा जोड दिए । इलेक्ट्रोनिक व्यवसायी संघका उदय केसीले टम्बो मोबाइल बजारमा राम्रो मोबाइलको रूपमा आएको जनाउँदै मोबाइल पसलहरूले अनिवार्य करको दायरमा आएर कारोबार गर्न सुझाव दिए ।
टम्बो मोबाइलमा बारफोन र स्मार्टफोन उपलब्ध गराइएको कम्पनीले जनाएको छ । बार फोनहरूमा मल्टीमिडिया फिचरका साथ ब्लु तुथ वायर लेस एफएम साथमा रेकर्डिङ फोन कल रेकर्डिङको सुविधा रहेको न्यूएसपी इन्टरप्राइजेजका सञ्चालक शिवराज पहारीले जनाए । त्यसैगरी स्मार्टफोनहरूमा फेस रिक्ग्नेसन, फिगंर प्रिन्ट, फोरजीलगायतका सुबिधा रहेको कम्पनिको दाबी छ । २०१७ को अन्त्यमा भारतीय कम्पनी अगस्टन मोबाइल र चाइनिज ओइएम कम्पनीको संयुक्त लगानीमा स्थापना गरेको कम्पनीबाट उत्पादन सुरु गरेको यस टम्बो मोबाइलले भारतमा २०१८ अप्रिलदेखि बिक्री वितरण सुरु गरेको बताइन्छ ।