कारोबार संवाददाता
मंगलबार, मंसिर २५, २०७५
1590

भारतीय सवारी उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राको स्कर्पियो निक्कै चर्चित छ भने धेरै बिक्री हुने एसयूभीमध्ये एक हो यो । भारतमा राजनीतिज्ञ, व्यवसायीदेखि सरकारी अधिकारीसम्मको रोजाइमा स्कर्पियो पर्ने गरेको छ । नेपाली बजारमा पनि स्कर्पियो निक्कै लोकप्रिय रहेको छ । स्कर्पियो नेपाली बजारमा महिन्द्राको आधिकारिक वितरक अग्नी इनकर्पोरेटेडले उपलब्ध गराउँदै आएको छ ।
स्कर्पियो नेपाली बजारमा पनि धेरै बिक्री हुने एसयूभीमध्येमा पर्दछ । महिन्द्राको पावरफुल एसयूभी स्कर्पियोको केही रोचक तथ्यबारे यहाँ चर्चा गरिएको छ ।

महिन्द्राको पहिलो इन–हाउस कार
स्कर्पियो महिन्द्राले आफैं डिजाइन गरेको पहिलो कार हो । महिन्द्राले स्कर्पियो सन् २००२ मा सार्वजनिक गरेको थियो । यो कार महिन्द्राको सबैभन्दा लोकप्रिय कारको रुपमा स्थापित हुन पुग्यो । स्कर्पियो निर्माणमा महिन्द्राले अष्ट्रिया र जापानका विज्ञहरुको भने सहयोग लिएको थियो ।
महिन्द्राले स्कर्पियो परियोजनाका लागि सानो टिम बनाएको थियो । उक्त टिममा २३ जना इन्जिनियरहरुको सहभागिता रहेको थियो । सानो समूहद्वारा डिजाइन गरिएकाले स्कर्पियोको मूल्य तुलनात्मक रुपमा कम कायम गरिएको थियो । २००२ मा महिन्द्राले स्कर्पियोको सुरुवाती मूल्य ५ लाख ५० हजार भारु तोकेको थियो । स्कर्पियोको मूल्य त्यो बेलाको टोयोटाको चर्चित कार क्वालिसभन्दा ५० हजार सस्तो थियो । हाल परिमार्जनसहित विभिन्न विशेषता थप गरि बजारमा ल्याइएको स्कर्पियोको मूल्य करिब १० लाख भारुबाट सुरु हुन्छ ।

सेडानको विशेषतामा ल्याइएको पहिलो एसयूभी
२००७ मा महिन्द्राले स्कर्पियोमा ठूलो परिवर्तन ग-यो । त्यो समयमा महिन्द्राले स्कर्पियोमा सेडान कारमा हुने विभिन्न सुविधाहरु थप गरेको थियो । कम्पनीले रेन सेन्सिङ वाइपर, क्रुज कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, भ्वाइस एसिस्ट, रिभर्स सेन्सर जस्ता विशेषता थपिएको थियो । जसले बजारमा उपलब्ध अन्य एसयूभीसँग प्रतिस्पर्धा गर्न सहज भएको थियो ।

पहिलो बजेट डिजेल अटोमेटिक एसयूभी
महिन्द्राले स्कर्पियो डिजेल इन्जिनमा अटोमेटिक गेयर बक्ससहित उत्पादन गरेको हो । स्कर्पियोलाई पहिलो बजेट डिजेल अटोमेटिक गेयर बक्स भएको एसयूभी मानिन्छ । २००८ मा महिन्द्राले २.२ लिटर टर्बोचाज्र्ड एमहक डिजेल इन्जिनमा सार्वजनिक गरेको थियो । स्कर्पियो मेनुअल ट्रान्समिसनका साथै ६ स्पीड अटोमेटिक गेयरबक्समा समेत उपलब्ध रहेको छ ।
स्कर्पियो भारतका साथै ल्याटिन अमेरिका, दक्षिण अफ्रिका, रसिया, श्रीलंका, स्पेन, ब्राजिल, नेपाललगायत देशमा बिक्री हुँदै आएको छ । स्कर्पियोको उत्पादन भारतका अलावा दक्षिण अमेरिका र दक्षिण अफ्रिकामा समेत हुँदै आएको छ ।