भारतमा फक्सवागन ग्रुपको नेतृत्व गर्दै स्कोडा अटो
कारोबार संवाददाता
मंगलबार, असार १२, २०७५
671

काठमाडौं-भारतीय बजारमा फक्सवागन ग्रुपको सबै क्रियाकलापको जिम्मेवारी अब उसको महत्वपूर्ण अंश स्कोडा अटोले लिने भएको छ । फक्सवागन ग्रुपको पकड बलियो बनाउने योजनासहित अघि बढेको जर्मन अटोमोबाइकल ग्रुपले भारतमा स्कोडालाई नेतृत्वदायी भूमिका दिने निर्णय गरेको हो ।
फक्सवागनको ‘इन्डिया २.०’ परियोजना अन्तर्गत स्कोडा अटोले समूहको ‘एमक्युबी प्ल्याटफर्म’को विकासको जिम्मेवारी लिनेछ । भविष्यमा स्थानीय रुपमा डिजाइन र उत्पादन गरिने फक्सवागनका सबै मोडेलहरू यही प्ल्याटफर्ममा आधारित हुनेछन् ।
एमक्युबी प्ल्याटफर्ममा आधारित स्कोडा कार सन् २०२० को सुरुमा सार्वजनिक हुने स्कोडाले जारी गरेको वक्तव्यमा उल्लेख छ । यो परियोजनाको नेतृत्व स्कोडा अटो इन्डियाका प्रबन्ध निर्देशक गुरप्रताप बोपाराइले गर्नेछन् ।
“फक्सवागन ग्रुपले यो जिम्मेबारी हामीलाई दिएको छ । यसबाट स्कोडा टिमको दक्षतालाई व्यवस्थापनले कति धेरै विश्वास गर्छ भन्ने देखाउँछ,” स्कोडाका प्रमुख कार्यकारी अधिकृत बर्नहार्ड मेयरले भने । करिब १८ महिनाअघि स्कोडा अटोलाई भारतमा स्कोडा र भक्सवागन दुवै ब्रान्डको दीर्घकालीन मोडेल अभियानको विकास गर्ने लक्ष्य दिइएको थियो ।
मेयरले भने, “फक्सवागनसँग डेढ वर्षदेखि जारी सहकार्यबाट भारतमा उचित समयमा उचित सवारी ल्याउन हामी सक्षम भएको कुरामा विश्वस्त भएका छौं ।” भारतमा यो अटो समूहको भविष्य निर्धारण गर्न स्कोडाले महत्वपूर्ण भूमिका खेले पनि पोलो र भेन्टो जस्ता आफ्नै मोडेलको उत्पादनको जिम्मेबारी भने फक्सवागनकै हुनेछ ।
तथ्यांकअनुसार अप्रिलदेखि मेसम्ममा फक्सवागनले भारतमा ६ हजार दुई सय १७ प्यासेन्जनर भेइकल विक्री गरेको थियो । तर, यसको वृद्धिदर अघिल्लो वर्ष तुलनामा करिब १० प्रतिशतले घटेको छ । स्कोडाले भने दुई हजार ८ सय २० वटा गाडी बेचेको थियो जुन अघिल्लो वर्षभन्दा १५.७५ प्रतिशत बढी हो । विशेषगरी, कोडियाकको विक्रीका कारण उसको वृद्धिदर बढेको हो ।
फक्सवागनको पछिल्लो मोडेल एमियो नामको कम्प्याक्ट सेडान हो जसलाई पोला र भेन्टोको बीचमा राखिएको छ । कुनै समय आफ्नो सानो कार फाबियाका कारण चर्चित स्कोडासँग अहिले ¥यापिड, अक्टाभिया, सुपर्व र कोडियाक गरी चार मोडेल छन् । भारतमा भक्सवागन ग्रुपको अडी, फक्सवागन, स्कोडा गरी तीन लोकप्रिय ब्रान्ड छन् । फक्सवागन कारहरू स्कोडाको ¥यापिडसँगै चाकन प्लान्टमा उत्पादन हुन्छन् भने स्कोडाका अन्य कार र अडीका मोडेलहरू औरंगावादमा उत्पादन हुन्छन् ।
गत वर्ष मार्चमा फक्सवागनले टाटा मोटर्ससँग दीर्घकालीन पार्टनरसपिको घोषणा गर्दै सन् २०१९ सम्ममा पहिलो उत्पादन सार्वजनिक गर्ने बताएको थियो । तर, सम्भाव्यताको कारण देखाउँदै प्रस्तावित सहकार्य गएको अगस्टमा रद्द गरिएको थियो ।