कारोबार संवाददाता
मंगलबार, श्रावण २२, २०७५
827

फोटोन ब्रान्डको पिकअप, लाइट कमर्सियल सेगमेन्टको अमार्क र माइक्रो बस सेगमेन्टको फोटोन भ्यू सीएस२ बजारमा आएका छन् । चिनियाँ कम्पनी फोटोनका उक्त सवारी नेपाल भित्रिएका हुन् । फोटोनको नेपालका लागि आधिकारीक बिक्रेता एमएडब्लू भिद्र्धि कमर्सियल भेइकल्स प्रालिले तीन सेगमेन्टका सवारी ल्याएको हो ।
फोटोन चिनियाँ सवारी उत्पादक कम्पनी हो । यो कम्पनी बेइजिङ अटो ग्रुप अन्तर्गतको कम्पनी हो । बेइजिङ अटो ग्रुप चीनको पाँचौं ठूलो अटो ग्रुपसमेत हो । फोटोनले जर्मनीको सवारी उत्पादन कम्पनी डिमलर एजी, अमेरिकी इन्जिन उत्पादक कम्पनी क्यूमिन्स इन्जिन र जेडएफ इन्जिन कम्पनीसँगको सहकार्यमा इन्जिन उत्पादन समेत गर्दै आएको छ ।

फोटोनको लाइट कमर्सियल भेइकल अमार्कमा २८ सय सीसी क्षमताको इन्जिन रहेको छ । अमार्कमा इसुजुको इन्जिन प्रयोग गरिएको छ । यो गाडी सहरी क्षेत्रमा सामान ओसारपसार गर्न निक्कै उपयोगी हुनेछ । यसको क्षमता ४ टन रहेको छ ।
त्यस्तै फोटोनको माइक्रोबस सेगमेन्टको फोटोन भ्यू सीएस२ भ्यान पनि उपलब्ध भएको छ । भ्यू सीएस२ १६ सिट क्षमताको माइक्रोबस हो । यो गाडी टुरिस्ट तथा रुट प्रयोजनका लागि निक्कै उपयोगी हुने एमएडब्लू भिद्र्धि कमर्सिलय भेइकल्सका म्यानेजर उत्साहराज श्रेष्ठले बताए । “चिनियाँ ब्रान्डको यो गाडी नेपाली बाटो अनुसार भएकाले हामीले उपलब्ध गराएका हौं,” श्रेष्ठले भने “फोटोन ब्रान्डका गाडी चलाउनेले अर्को पटकदेखि त्यही गाडी खोज्छन् । यो ब्रान्डको गाडी आफ्नो क्लासमा निक्कै उत्कृष्ट छ ।” नेपाली उपभोक्ताको चाहना अनुसारका सवारी उपलब्ध गराउँदै जाने उनको भनाइ छ ।
भ्यू सीएस२ मा पनि २८ सय सीसीको इन्जिन क्षमता, हरेक सिटमा एसी भेन्ट, रिक्लाइनिङ सिट, सेन्टर कन्ट्रोल डोरलक लगायत विशेषता रहेका छन् । यो गाडीमा क्यूमिन्सको इन्जिन प्रयोग गरिएको छ ।
त्यस्तै फोटोनको पिकअफ टूनल्यान्डमा पनि २८ सय सीसी इन्जिन क्षमता रहेको छ । पछिल्लो समय नेपाली बजारमा एसयुभी तथा डब्ल क्याब फोरइन्टूफोर पिकअप सेगमेन्टका सवारीको माग उच्च भएकाले फोटोनको डब्ल क्याब फोरइन्टूफोर पिकअप पनि नेपाली बजारमा उपलब्ध गराएको श्रेष्ठको भनाइ छ ।
“पछिल्लो समय नेपालमा परियोजनाहरु बन्ने क्रम तिव्र भएको र ग्रामिण बाटोमा धेरै जानु पर्नेहरुले पिकअप नै रोज्ने गरेका फोटोनको पिकअप ल्याएका हौं,” उनले भने, “उपभोक्तालाई गुणस्तरिय सवारी उपलब्ध गराउन हामी प्रतिवद्ध छौं ।” फोटोनको पिकअपमा ४ वटै चक्कामा डिसब्रेक, वेडलाइनर, रिभर्स सेन्सर, एबीएस, इबीडी, जर्मन गेयर बक्सजस्ता विशेषता रहेका छन् ।
नेपालमा आउने फोटोनको पिकअप भने थाइल्यान्डमा उत्पादन हुने गरेको छ । उपभोक्ताहरुमा फोटोनको सवारी खरिद गरेपछि स्पेयर पार्टस् तथा सर्भिसको कसरी उपलब्ध हुन्छ भन्ने चिन्ता हुन सक्छ भन्दै श्रेष्ठले भने, “हामी फोटोनका सवारी प्रयोगकर्तालाई आवश्यकता अनुसारको स्पेयर पार्टस् र सर्भिस सहज, पर्याप्त र सुलभ तरिकाले उपलब्ध गराउन प्रतिवद्ध छौं ।” कम्पनीले त्यसका लागि आवश्यक तयारी पूरा गरिसकेको उनको भनाइ छ ।