कारोबार संवाददाता
मंगलबार, श्रावण २२, २०७५
3759

भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले २ सय सीसीको एडभेन्चर मोटरसाइकल ल्याउने भएको छ । २०१८ को अटो एक्सपोमा सार्वजनिक गरिएको मोटरसाइकल आगामी डिसेम्बरमा बजारमा ल्याउने तयारी कम्पनीको छ ।
हिरोले उक्त मोटरसाइकलको नाम हिरो एक्सपल्स २०० राखेको छ । यो हिरोको सस्तो एडभेन्चर मोटरसाइकल हुनेछ । हिरोले एक्सट्रिम २०० आर तथा डुएट १२५ र मेस्ट्रो १२५ स्कुटरमा केन्द्रित हुँदा एक्सप्लस सार्वजनिक गर्न समय लागेको बताइएको छ ।
हिरोले यसअघि ल्याएको मोटरसाइकल हिरो एक्सप्रेस २०० को मूल्य ८८ हजार भारु तोकेको थियो । हिरो एक्सट्रिम २०० आरमा प्रयोग गरिएकै इन्जिन एक्सपल्स २०० मा हुनेछ । उक्त इन्जिनले १८ बीएचपी र १७ एनएम टर्क दिन्छ । ५ स्पीड ट्रान्समिसन, एलइडी हेडल्याम्प, फुल डिजिटल इन्सट्रुमेन्ट क्लस्टर लगायत विशेषता हिरो एक्सपल्स २०० मा हुने छ ।
हिरोले एक्सपल्स २०० मोटरसाइकल सार्वजनिक गरेपछि यो नै भारतमा उपलब्ध सबैभन्दा सस्तो एडभेन्चर मोटरसाइकल हुने छ । यो मोटरसाइकलको मूल्य करिब १ लाख भारु हुने अनुमान गरिएको छ । रोयल इनफिल्डको हिमालयन मोटरसाइलको मूल्य १ लाख ६८ हजार भारु छ । यो मोटरसाइकलसँग हिरोको एक्सपल्सले प्रतिस्पर्धा गर्न सक्छ वा सक्दैन त्यो भने हेर्न बाँकी नै छ ।