कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५
558

दोलखा-वैतेश्वर गाउँपालिका–५ का अर्जुन नेपालीलाई अहिले कसैसँग कुराकानी गर्ने फुर्सदसमेत छैन । मैनापोखरी बजारमा एनबी टेलरिङ सेन्टर सञ्चालन गर्दै आएका नेपालीलाई दसैं, तिहार जस्ता चाडबाडको सिजनमा कपडा सिलाउन भ्याइनभ्याइ भएको छ ।
ग्राहकबाट अर्डर लिन र तयार भएका कपडा दिनमै उनलाई भ्याइनभ्याइ छ । चिटिक्क परेका कपडा लगाउने रहर सबैलाई हुन्छ । त्यस्तो रहर पूरा गर्न त्यस क्षेत्रका धेरै मानिस अर्जुनलाई खोज्दै आउने गरेका छन् । हुन त अर्जुनले यो व्यवसाय गरेको लामो समय भएको छैन । तर पुख्र्यौली पेसालाई समयानुकूल बनाउँदै उनले यसैमा सात वर्ष बिताइसकेका छन् । “धेरैले आफ्नो पुख्र्यौली पेसा छाडेर अन्यत्र रोजगारीका लागि भौतारिन्छन्,” उनले भने “मैले यसैलाई समयानुकूल बनाउँदै लगेपछि राम्रो हुँदै गएको छ ।”

घरमै पुर्खादेखि बालीघरे प्रथाको रुपमा लुगा सिलाउँदै आएका अर्जुनलाई समयानूकलको व्यवसाय बजारमा आएर सञ्चालन गर्न स्थानीय जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सहयोग गरेको हो । जनमुखीले दिएको ७ लाखबाट आफूले ७ वर्ष अघि टेलरिङ सुरु गरेको उनले बताए । “आफूसँग रहर भएर पनि पैसा नहुँदा व्यवसाय सञ्चालन गर्न नसक्नेका लागि सहकारी देवता सरह हुँदोरहेछ,” उनले भने ।
अर्जुनको एनबी टेलरिङ मैनापोखरी बजारमा रहेका अन्य टेलरिङहरू मध्ये सबैभन्दा बढी चलेको छ । आफूले मात्र स्वरोजगारका लागि २ वटा मेसिन राखेर सुरु गरेको व्यवसायमा अहिले उनले ८ जनालाई रोजगारीसमेत दएका छन् । उनको टेलरिङको सम्पत्ति मात्र २० लाख रुपैयाँ नाघिसकेको छ ।
नियमित बचत र आवश्यक परेका बेला ऋणका लागि सहकारी नै पुग्ने गरेको उनले बताए । मैनापोखरीमा बजार विस्तारसँग अहिले २ वटा बाणिज्य बैंकका शाखा भए पनि आफैं सेयर सदस्य र लामो समयदेखि बचत गर्दै आएकाले सहकारीले नै आफूहरूको सबै आवश्यकता पूरा गरिएको मैनापोखरीका अर्का व्यवसायी भीमबहादुर दाहालले बताए ।
४ वर्ष अघि जनमुखीबाटै ५ लाख रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरेका दाहालले अहिलेसम्म कुनै पनि किस्ताको भाखा एक दिन पनि नघाएका छैनन् । नियमित कारोबार गर्ने भएकाले अर्जुन र भीम जस्ता २ दर्जन बढी जनमुखीले असल ऋणीका रूपमा राखेको छ । नियमित कारोबार गर्दा अत्यन्तै समस्या परेका बेला सहकारीले जुनसुकै बेला पनि आफ्नो समस्या टार्न सहयोग गरेको दाहालले बताए ।
आत्माराम फेन्सी पसलका सञ्चालक दाहाल आजभोलि सहकारीबाटै ८० लाख रुपैयाँसम्मको कारोबार गर्न सफल भएकोमा सहकारीकै योगदान भएको बताउँछन् । मैनापोखरी क्षेत्रमा जनमुखीसहित एसियाली मापदण्डको सिल्भर ब्राण्ड प्राप्त जनसचेतन साकोस पनि छ । अन्य साना ठूला आधा दर्जन सहकारी मैनापोखरी बजार क्षेत्रलाई नै आधार बनाएर सञ्चालित छन् ।
बजारमा ठूला ठूला घर बनेका छन् । घर घरेडीको कारोबार पनि एक दशकदेखि उल्लेख्य छ । व्यापार व्यवसाय राम्रै छ । यसको सबैको श्रेय सहकारीकै कारण भएको जनमुखी साकोसका अध्यक्ष सिताराम दाहाल बताउँछन् ।
जनमुखीले केही दिन अघि २० औं वर्ष पूरा गरेको छ । अहिलेसम्म १५ हजार ७ सय ३० जना सेयर सदस्यबाट ६५ करोड ५० लाख रुपैयाँ पुँजी संकलन भएको उनले जानकारी दिए । सहकारीले नियमित व्यवसायका अतिरिक्त ७५ वर्ष पूरा गरेकालाई मासिक ५ सय जीवनवृत्ति खर्च, नियमित तीर्थ यात्रा, शौचालय निर्माण तथा विभिन्न ठाउँमा प्रतिक्षालय निर्माणसमेत गर्दै आइरहेको उनले जानकारी दिए ।
-दिलबहादुर केसी