कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५
437

माछापुछ्रे बैंकले हालसालै नियुक्त गरेका ब्रान्ड एम्ब्यासडर आर्यन गिरीले थाइल्यान्डमा आयोजित इम्प्याक्ट सुपर जुनियर सिरिज अन्तर्गतको यू१४ बोइज सिन्गल्सको उपाधि जित्न सफल भएका छन् । नेपाललगायत भारत, जापान, अमेरिका, सिंगापुर र थाइल्यान्डबाट भाग लिएका ३२ जनाको समूहबाट गिरीले प्रथम स्थान हासिल गरी उक्त उपाधि जितेका हुन् । यस जितसँगै बालीमा अक्टोबर महिनामै आयोजित हुन लागेको एसियामै उत्कृष्ट मानिने यू१४ टेनिस प्रतियोगिताको लागि थप ऊर्जा मिलेको गिरीले बैंकलाई बताएका छन् ।
आर्यन गिरी १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन् । ६ वर्षको कलिलै उमेरदेखि टेनिस सुरु गरेका गिरीले नेपाल अन्डर १४ को नम्बर १ र एसिया अन्डर १४ मा नम्बर २९ स्थान बनाउन सफल खेलाडी हुन् । त्यसैगरी बैंकका अर्का प्रतिभावान ब्रान्ड एम्ब्यासडर मिरा राईले पनि अगस्ट महिनामा इटालीमा आयोजित ट्रोफियो किमा–स्काई रनिङ वल्र्ड सिरिजमा तेस्रो स्थान हासिल गर्न सफल भएकी थिइन् । बैंकले यस वर्ष खेलकुद क्षेत्रका उदीयमान नामहरू मीरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई ब्रान्ड एम्ब्यासडरका रूपमा नियुक्त गरेको थियो । बैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखा, २ वटा एक्सटेन्सन काउन्टरहरू लगायत ३३ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा १ सय २१ स्थानबाट ग्राहक महानुभावहरूमा सम्पूर्ण बैकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैकको देशभर ९९ वटा एटीएम सञ्चालनमा छ ।