कारोबार संवाददाता
आइतवार, कार्तिक १८, २०७५
312

अर्थमन्त्री डा. युवराज खतिवडाले बजारमा तरलताको अभाव नभएको दाबी गरेका छन् । मोरङ व्यापार संघको ६३ औं साधारणसभालाई सम्बोधन गर्दै खतिवडाले तरलताको अभाव हल्ला मात्रै भएको जिकिर गरे । “बजारमा तरलताको अभाव छैन,” अर्थमन्त्री खतिवडाले भने, “तरलताको सामान्य समस्या देखिए पनि त्यसलाई अभावै भयो र संकट नै आइपु¥यो भन्न मिल्दैन ।” उनले दसैंलगायतका चाडपर्वका कारण सर्वसाधारणले खुद्राखुद्री साटेको र घरमा रकम सञ्चित गरेकाले आर्थिक तरलतामा सामान्य समस्या देखिएको स्पष्ट पारे ।
खतिवडाले विदेशी लगानी भित्र्याउने नाममा नेपाललाई डम्पिङ साइड नबनाउने बताए । प्रत्यक्ष विदेशी लगानी भित्र्याउन पूर्वाधारको विकास हुनुपर्नेमा त्यसका लागि सरकारले पर्याप्त ढोका खुल्ला गरेको उनको भनाइ थियो । निजी क्षेत्रको लगानीले मात्रै दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न सकिने भएकाले निर्धक्क भएर लाग्नी गर्न निजी क्षेत्रलाई उनले आग्रहसमेत गरे । मुलुकको आर्थिक अवस्था निराशाजनक नभएको भन्दै खतिवडाले भने, “लगातार ३ वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर भएको छ । यो सम्भवतः नेपालको इतिहासमा पहिलो पटक भएको हुनुपर्छ ।” ७–८ प्रतिशतको आर्थिक वृद्धि गर्दै २ अंक पु¥याउने लक्ष्यका साथ सरकार अघि बढेको उनको दाबी थियो ।

त्यस्तै बाहिरबाट ऋण लिएर लगानी गर्नका लागि सरकारले ढोका खोलिदिएको खतिवडाले बताए । उनले एक दर्जनभन्दा बढी औद्योगिक क्षेत्रका ऐन निर्माणको अन्तिम चरणमा पुगिसकेको दाबी गरे । “सरकार लगानीको वातावरण बनाउन तदारुकताका साथ लागेको छ,” उनले थपे, “ऐन निमय र नीति बनाउने काममा सरकार जोडतोडका साथ लागेको छ । अब निराश हुने दिन गए ।”
सरकारले स्वस्थ कर प्रशासन निर्माण गर्ने उद्देश्यले भ्याट छुटको खेती गर्न बन्द गरेको उनले प्रस्ट्याए । भ्याट छुट दिने प्रणालीबाट लोककल्याणकारी कार्य नभएको भन्दै उनले भ्याट छुटभन्दा पनि उत्पादनमा अनुदान दिने व्यवस्था गरिएको बताए । उद्योग रहे नै बैंक पनि फस्टाउने भन्दै उनले दुवै क्षेत्रलाई विन–विन हुने अवस्थामा लैजान सरकारले नीतिगत रुपमा काम अगाडि बढाएको जानकारी दिए । “कपडा उद्योगका लागि के गर्नुपर्छ प्रस्ताव लिएर आउनुहोस्,” उनले भने, “उद्योग व्यवसायको संरक्षण र प्रवद्र्धनमा सरकार लागि पर्छ ।”
प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले निर्यातजन्य र रोजगारमूलकमा लगानी गर्न उद्योगीहरूलाई आग्रह गरे । आङ्बोले प्रदेश सरकारले आयातलाई निरुत्साहित गर्न नीतिगत रुपमै लागेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लगानीयोग्य रकम बैंकहरूमा नभएको गुनासो पोखे । महँगो ब्याजदरका कारण उद्योगी व्यवसायीले लगानी गर्ने हिम्मत गर्न नसकेको गोल्छाले उल्लेख गरे । उनले अझै पनि लगानीमैत्री ऐन कानुन बन्न नसकेको बताए । “लगानीमैत्री वातावरण बन्न सकेको छैन,” उनले भने, “आयात बढेको बढ्यै छ । यस्तो अवस्थामा आर्थिक समृद्धिको सपना पूरा हुने सम्भावना देखिँदैन ।” बैंकको चर्को ब्याज, पूर्वाधारको विकास एकदमै कमजोर, लगानीमैत्री कानुन नहुनु र राजनीतिक र आर्थिक लाभका उद्देश्यले गरिने अनुगमनका कारण निजी क्षेत्र हतोत्साहित भएको गोल्छाको तर्क थियो ।
कार्यक्रममका मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका कार्यवाहक अध्यक्ष सुयश प्याकुरेल, संघका पूर्वअध्यक्ष एवं उद्योगी शंकरलाल अग्रवालले राज्यले उद्योगी–व्यवसायीलाई अपराधीको जस्तो व्यवहार गर्ने गरेको गुनासो पोखे । उनीहरूले उद्योगीलाई विकासको साझेदार बनाउन आग्रहसमेत गरे । कार्यक्रममा राजस्व सचिव शिशिर ढुंगाना, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलगायतले सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै मुलुकको आर्थिक समृद्धि हुने विचार व्यक्त राखे ।