कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५
424

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूबाट प्रवद्घित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा मंगलबारबाट कारोबार सुरु गर्ने गरी बैंक अफ काठमाण्डू, कुमारी बैंक लिमिटेड र देवःविकास बैंक लिमिटेडलाई उक्त प्रणालीमा आबद्ध गराइएको छ ।
यी बैंकका ग्राहकहरूले यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट अनलाइनमार्फत प्रतिबैंक प्रतिकारोबार १ लाख रुपैयाँसम्मको भुक्तानी गर्न सक्नेछन् भने मोबाइल एप्समार्फत प्रतिबैंक प्रतिकारोबार ५ हजार रुपैयाँसम्मको भुक्तानी गर्न सक्नेछन् । यस प्रणालीमार्फत बैंकका ग्राहकहरूले आफूलाई एक पटकआबद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरू उपयोग गर्न सक्ने व्यवस्था छन् ।
हाल यस प्रणालीमार्फत नेपाल सरकारको राजस्व भुक्तानी, रकम ट्रान्सफर, बिलभुक्तानी, क्रेडिटकार्ड बिलभुक्तानी, मोबाइल वालेटको फण्डलोड, सेयर ब्रोकरको भुक्तानीजस्ता कारोबार गर्न सकिने व्यवस्था छ । यस माध्यमबाट भुक्तानी कारोबारहरू अनलाइनमार्पmत सिधै बैंक खाताबाट हुने हुँदा बैंकका ग्राहकहरूले बेहोर्दै आएको अनावश्यक झन्झटबाट राहत पाउनुको साथै समयकोे समेत बचत हुने जनाएको छ ।