कारोबार संवाददाता
बिहिवार, कार्तिक २९, २०७५
345

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बैंकिङ क्षेत्रमा व्यावसायिक आचारसंहित पालनाको अवस्था कमजोर हुँदै गएको बताएका छन् । नेसनल बैंकिङ इन्स्टिच्युटले बुधबार आयोजना गरेको कार्यक्रममा पूर्वगभर्नर क्षेत्रीले आचारसंहिता पालना नगर्ने प्रवृत्ति बढ्दै गएको बताए ।
उनले बैंकिङ प्रणालीमा हुने गरेका आचारसंहिता विपरीतका क्रियाकलाप, इन्साइडर ल्यान्डिङ र इन्साइडर ढिलिङले संस्थागत सुशासनमा समेत समस्या देखिएको बताए । बैंकहरूले धितो लिलामी गर्दा मानवीयतालाई पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो । कर्जा खराव भएपछि धितो स्वीकार गर्दा मानवीयता भनेर छाडेको खण्डमा अधिकांश बैंक समस्यामा आउने गरेको उनले बताए । “अहिले बैंकहरूले थोरै कर्मचारीबाट धेरै काम गराउने गरेका छन्,” उनले भने, “केन्द्रीय बैंक तथा बैंक वित्तीय संस्थाका प्रमुखहरूले आफ्नो पदको गलत फाइदा लिन हुँदैन ।” पछिल्लो समयमा केन्द्रीय बैंकका कर्मचारीले निजी क्षेत्रका बैंकमा जागिर माग्ने प्रचलन बढेको उनको भनाइ थियो । यसलाई सुधार नगरे नियमन र सुपरीवेक्षण गर्न नियामक निकाय असफल हुनेसमेत उनको तर्क छ । उनले सानातिना उपहार तथा अफरले नीतिगत निर्णय प्रभावित हुन नहुने बताए ।
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीले बैंकहरूमा अस्वस्थ्य प्रतिस्पर्धा बढेको बताए । बैंकहरूको अस्वस्थ प्रतिस्पर्धाले बैंकिङ प्रणालीमा समस्या बढेको उनको भनाइ थियो । उनले ऐनले व्यवस्थापन र सञ्चालक समितिबीचको कामबारे स्पष्ट किटान गरिदिए पनि अध्यक्षले कार्यकारी भूमिका खेलिरहेको बताए । “सञ्चालक समितिको कर्तव्य र अधिकारको स्पष्ट लक्ष्मण रेखा हुनुपर्छ,” उनले भने, “विगतमा सञ्चालक समितिले व्यवस्थापन हेर्दा देखिएको समस्या पुनः दोहोरिन सक्छ ।”