कारोबार संवाददाता
आइतवार, मंसिर २, २०७५
373

 वि.संं १९९४ साल कात्तिक ३० गते लक्ष्मीपूजाका दिन स्थापित नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ८२ औं वर्षमा प्रवेश गरेको छ । नेपालको बैंकिङ विकासको आधारस्तम्भका रूपमा रहेको यस बैंकको वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री, अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ सचिव, राजस्व सचिवलगायतका उच्च पदस्थहरूले बैंकलाई लिखित शुभकामना सन्देश दिए ।
यस क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई समय सुहाउँदो प्रविधि मैत्री बनाइ दुर्गम सुगम सबै क्षेत्रका नेपालीलाई आधुनिक बैंकिङ सुविधा उपलव्ध गराउन बैंकलाई शुभकामना दिए भने अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल बैंक लिमिटेड विगतको कमजोर अवस्थाबाट तुलनात्मक रूपमा माथि उठी आज सवल बैंकको रूपमा स्थापित हुन सकेकोमा प्रशन्नता व्यक्त गर्दै आगामी दिनमा वित्तीय पहुँच तथा ग्राहक सेवामा बलियो उपस्थितिसहित सरकारी बैंकको हैसियतले नेपाल सरकारका गरिबी निवारण, सहुलियतपूर्ण ऋण कार्यक्रम, पूर्वाधार विकाससम्बन्धी आयोजनाहरूमा सक्रिय सहभागिता बढाउन सकोस् भन्ने शुभकामना दिए ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले दिगो र समावेशी आर्थिक वृद्धिका लागि वित्तीय क्षेत्रबाट अपेक्षित भूमिका निर्वाहमा विशेष ध्यान पु¥याउन । नेपाल बैंकलाई शुभकामना दिएका छन् । यसैगरी नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष जनार्दन शर्मा आचार्यले बैंकको परिवर्तित सुदृढ अवस्था प्रतिप्रशन्नता व्यक्त गर्दै आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व र वित्तीय साक्षरतासम्बन्धी कार्यक्रममा विशेष पहल गर्ने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले बैंकले हालका वर्षहरूमा हासिल गरेका उपलब्धिहरू गर्व गर्न लायक रहेको बताउँदै बैंकले प्राप्त गरेका उपलब्धिलाई दिगो बनाउन आगामी बैंक व्यवस्थापनको ध्यान स्मार्ट ब्रान्चको प्रभावकारी कार्यान्वयन गरी ग्राहकलाई प्रफुल्ल बनाउने दिशामा केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरे । यसैबीच बैंकले वार्षिकोत्सवकै दिन विभिन्न ८ स्थानमा शाखा स्थापना गरेको छ । यसरी स्थापित हुने शाखाहरू प्रदेश १ को विराटचोक (मोरङ), मंगलबारे (इलाम) पाख्रीवास (धनकुटा ) प्रदेश २ को सर्लाही पर्सा, भवानीपुर (सर्लाही) बर्दिवास (महोत्तरी) प्रदेश ३ को दुधौली (सिन्धुली) प्रदेश ४ को आरुङखोला (नवलपरासी ) छन् । यी शाखा स्थापना पश्चात बैंकको जिल्ला पहुँच ५९ पुगेको छ । भरखरै सम्पन्न आर्थिक वर्षमा ३ अर्ब ३९ करोड मुनाफा आर्जन गरेको यस बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमाशमा ९१ करोड ३८ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा ९३ अर्ब ४३ करोड निक्षेप संकलन गरि ८१ अर्ब कर्जा प्रवाह गरेको यस बैंकले १५४ शाखा सञ्जाल ८१ वटा एटिएम सेवा विन्दुमार्फत १५ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा पु¥याएको छ ।