कारोबार संवाददाता
बिहिवार, असार २८, २०७५
1183

बचत तथा ऋण कारोबार गर्ने सहकारीहरूलाई नेपाल राष्ट्र बैंकले अनुगमन गर्नुपर्ने आवाज उठिरहेका बेला राष्ट्र बैंकको आफ्नो नियमनको दायरामा रहेका सहकारीलाई समेत अलग गर्ने घोषणा गरेको छ । बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर डा. चिरञ्जीवी नेपालले सीमित बैकिङ कारोबार गर्न अनुमति दिएका सहकारी संस्थालाई २०७५ साउन १ गतेदेखि राष्ट्र बैंकको नियामकीय तथा सुपरिवेक्षकीय दायराबाट अलग गराइने घोषणा गरे ।
हाल १४ वटा बचत तथा ऋण सहकारी संस्थाले राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने अनुमति लिएका छन् । यस्तो अनुमतिपत्र लिने सहकारीको संख्या तीन दर्जन पुगेपनि सहकारीहरूको बिग्रँदो वित्तीय अवस्था, निर्देशनहरूको अवज्ञा, कार्यक्षेत्र र सदस्यबाहिर कारोबार गरेको कारण देखाइ अनुमित रद्द गर्न थालेपछि राष्ट्र बैंकअन्तर्गत रहेर कारोबार गर्ने सहकारीहरूको संख्या घट्दै गएको हो । विभिन्न कारण देखाउदै राष्ट्र बैंक आफैंले अनुमति दिएका २ दर्जनबढी सहकारीको सीमित बैंकिङ कारोबार अनुमति रद्द गरिसकेको छ ।

राष्ट्र बैंकले इजाजतपत्र रद्द गरेपनि सहकारी संस्थाले भने यथावत अवस्थामा कारोबार संचालन गर्ने गरेका छन् । राष्ट्र बैंकले औल्याएको त्रुटीका आधारमा सहकारी विभागले नियमन गर्ने र ती संस्थाका संचालकलाई कारवाही गर्न समेत बेवास्ता गर्दै आएको छ ।
०५७ सालसम्म ३७ वटा सहकारीले राष्ट्र बंैंकबाट ‘सीमित बैंकिङ कारोबार’ को अनुमति पाएका थिए । राष्ट्रिय सहकारी बैंकले भने अन्य सहकारीहरूलाई इजाजत दिन छोडेपछि २०६७ सालमा मात्र अनुमति लिएको हो । राष्ट्र बैंकले ०५७ पछि नयाँ सहकारीलाई सीमित बैंकिङ कारोबारका लागि अनुमति दिन छोडे पनि सहकारी बैंकलाई भने ‘अन्य संस्था’ को सूचिमा राखेर अनुमति दिइएको छ ।
सहकारी ऐन २०४८ का आधारमा केही सहकारीले राष्ट्र बैंकबाट अनुमति लिए पनि पछि यो प्रचलन आफैं हटेको हो । सदस्यबीच कारोबारका लागि केन्द्रीय बैंकको अनुमति नचाहिने आधारमा सहकारीमा कारोबार भइरहेको छ ।
सहकारी ऐन—२०७४ ले भने तोकिएभन्दा बढी आर्थिक कारोबार गर्ने सहकारीहरूको राष्ट्र बैंकले सुपरिवेक्षण गर्ने व्यवस्था गरेको छ । हाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार अनुमतिप्राप्त सहकारीहरूमा उपत्यकामा हिमालय सहकारी संस्था, सगुन सहकारी, नेपाल सहकारी वित्तीय संस्था र महिला सहकारी संस्था तथा उपत्यकाबाहिर कैलालीको नवजीवन को–अपरेटिभ्स र किसान बहुउद्देश्यीय सहकारी, सर्लाहीको द सहारा लोन सेविङ को—अपरेटिभ्स सोसाइटी, काभ्रेको विन्धवासिनी वचत तथा ऋण र मनकामना सहकारी, बाँकेको सहकारी वित्तीय विकास र भेरी सहकारी वित्तीय संस्था, नबलपरासीको विकु बचत तथा ऋण, मोरङको स्टार बहुउद्देश्यीय बचत तथा ऋण, स्याङ्जाको उपकार बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।