भुवन पौडेल
बिहिवार, श्रावण ३१, २०७५
664

गत आर्थिक वर्ष २०७४-७५ मा वाणिज्य बैंकहरूले नाफावाट लाभांशस्वरूप ३८ अर्ब ९ करोड रुपैयाँ वितरण गर्नसक्ने अवस्था देखिएको छ । सो अवधिमा बैंकहरूले ४८ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेकाले सो रकम सेयरधनीलाई प्रतिफलस्वरूप बाँड्नसक्ने अवस्था देखिएको हो ।
बैंकहरूले गरेको खुद नाफावाट सञ्चित कोषमा २० प्रतिशत, सामाजिक उत्तरदायित्वका लागि एक प्रतिशत तथा अन्य सञ्चितिका लागि एक प्रतिशत छुट्याएपछिको नाफा सेयरधनीलाई लाभांश स्वरूप बाँड्न सक्छन् । तर, बैंकहरूले अनिवार्य गरिएभन्दा धेरै पनि सञ्चित कोषमा राख्नसक्ने भएकाले उक्त रकम पूरै सेयरधनीलाई वितरण गर्छन् नै भन्ने निश्चित भने हुदैन । बैंकको वित्तीय अवस्था अनुसारको सञ्चित छुट्यापछिमात्र लाभांश दिने निर्णय गर्छन् ।

गत आर्थिक वर्षमा सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये २७ ले प्रकाशित गरेको वित्तीय विवरणअनुसार खुद नाफा ४८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०७३-७४ को तुलनामा १६.९३ प्रतिशतले धेरै हो । अघिल्लो आवमा बैंकहरूले ४१ अर्ब ७६ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेका थिए । बैंकहरूले गत आवमा गरेको नाफा अघिल्लो आवको तुलनामा करिब ८ प्रतिशतले कम हो । अघिल्लो वाबमा बैंकहरूको नाफामा २५ प्रतिशतको वृद्धि थियो ।
बैंकहरूले पुँजी बढाएको असर गत आर्थिक वर्षमा पनि देखिएको छ । बैंकहरूले पुँजी वढाएर ८ अर्ब पु¥याए पनि सो अनुपातमा व्यवसाय विस्तार गर्न भने नसकेको देखिन्छ । त्यसका साथै गत आर्थिक वर्षको सुरुवातमा बैंकहरू आक्रामक भएर कर्जा प्रवाह गरेपनि कर्जा लगानीयोग्य रकमको अभावको समस्या बढ्यो । सो समस्याका कारण बैंकहरूले कर्जा प्रवाह नै नियन्त्रण गरे । बैंकहरूले नयाँ निक्षेप नलिएसम्म कर्जा प्रवाह गर्न नसक्ने अवस्था आएपछि ब्याजदर वढाएर निक्षेप आकर्षण गर्ने प्रयास पनि असफल भयो । बैंकहरूले खर्च कटौती गर्न नसक्दा पनि नाफा वृद्धिदर घटेको हो । बैंकिङ क्षेत्रले भोगेको समस्याका बवजुद पनि बैंकहरूको वृद्धिदर उत्साहजन नै रहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए । “बैंकहरूको कुल व्यवसाय वृद्धि करी २० प्रतिशतले बढेको छ,” उनले भने, “गत आवमा १९ प्रतिशतको निक्षेप तथा २२ प्रतिशतको कर्जा विस्तार भएको हुनाले करिब २० प्रतिशतसम्मको ग्रोथ सन्तोषजनक हो ।” तुलनात्मक रूपमा विगतभन्दा बैंकहरूको खर्च बढेको हुनाले नाफामा केही कमी आएको भए पनि व्यवसायको विस्तार अनुसारको वृद्धि ठिकै रहको दाहालको भनाइ छ ।
गत आवमा बैंकहरूको खुद ब्याज आम्दानी पनि २१ प्रतिशतले वढेको छ । यो अवधिमा बैंकहरूले पुँजी कर्जा तथा निक्षेप(सीसीडी) रेसियो कसिलो अवस्थामा भएपछि उच्च ब्याजदरमा निक्षेप लिनु परेको थियो । अघिल्लो आवमा बैंकहरूको खुद ब्याज आम्दानी २३.८८ प्रतिशतले वढेको थियो ।
गत आवमा सबैभन्दा धेरै नाफा गर्नेमा निजी क्षेत्रको नबिल बैंक रहेको छ । बैंकले यो अवधिमा ४ अर्ब ५ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा ४४ करोड रुपैयाँभन्दा धेरैले बढेको हो । गत आर्थिक वर्षमा जनता, सिभिल र सेञ्चुरी कमर्सियल बैंकले मात्र १ अर्बभन्दा थोरै नाफा गरेका छन् ।