कारोबार संवाददाता
बिहिवार, भदौ २८, २०७५
1179

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले केही दिनदेखि चर्चामा रहेको ‘दुबई जाने जहाज क्वालालम्पुर लगियो’ भन्ने प्रचारबाजीमा सतर्क रहन आग्रह गरेको छ । निगमले बुधबार विज्ञप्ति जारी गर्दै नियमित उडान तालिकाअनुसार नै जहाज मलेसियाको क्वालालम्पुर लगिएको प्रष्ट पारेको छ । निगमको अर्को जहाज ( ए३२० ९एन ए.के.डब्लु)मा भदौ २१ गते चरा ठोकिएकाले ग्राउन्डेड भएका कारण दुबईको फ्लाइट रद्द गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ– एउटा विमान भूमिस्थ छ । एउटा विमान भूमिस्थ भएका कारणले कतिपय नियमित उडान तालिकामा असर परिरहेको थियो । यसै क्रममा २०७५ भदौ २४ गतेको दुबई उडान रद्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भई उक्त उडान नभएको हो । क्वालालम्पुर जानका लागि दुबईको उडान रद्द भएको होइन ।
प्रत्येक सोमबार हुने नियमित उडानकै क्रममा भदौ २५ गते क्वालालाम्पुर उडान गरिएको निगमले स्पष्ट पारेको छ । “उक्त उडान समय तालिका अनुसार नै भएको हो,” विज्ञप्तिमा भनिएको छ, “उक्त उडानमा मलेसीयाको लंकावी सहरमा भएको पाटा ट्राभल मार्ट–२०१८ मा भाग लिन जाने नेपाली २६ जना प्रतिनिधि थिए । उक्त प्रतिनिधिमण्डलको कारणले दुबई जाने उडान क्वालालाम्पुरतर्फ लगियो भन्ने कुरा साँचो होइन ।”