सरस्वती ढकाल
शुक्रवार, भदौ २९, २०७५
874

उद्योगी व्यवसायीहरूले उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकमा भएको सजाय र दण्ड जरिवानासम्बन्धी व्यवस्था खुकुलो बनाउन माग गरेका छन् । उनीहरूले ऐन संशोधन नगरी जस्ताको तस्तै पारित भए आफूहरूलाई जुनसुकै बेला जेल जानुपर्ने हुनसक्ने भन्दै जेलको आकार बढाउन व्यंगात्मक सुझाव पनि दिए ।
नेपाल उद्योग वाणिज्य महासंघले विधेयकका सम्बन्धमा बिहीबार काठमाडौंमा गरेको अन्तक्रियामा व्यवसायीहरूले उद्योगमन्त्री मातृका यादवसमक्ष यस्तो आग्रह गरेका हुन् । उनीहरूले विधेयकमा प्रस्ताव गरिएको व्यापारिक तह र तोकिएबमोजिम भन्ने शब्दावली, मूल्य निर्धारण विधि, सबै सामानमा लेबल राख्नुपर्ने, किनिसकेको सामान शिलबन्दी भए १५ दिन र नभए ७ दिनसम्म फिर्ता गर्नुपर्ने, उद्योगको उत्पादन रोक्ने अधिकार मन्त्री र सचिवसँग हुने लगायतका व्यवस्थाको विरोध गरेका हुन् ।

महासंघ अध्यक्ष भवानी राणाले व्यापारघाटा दिनानुदिन बढिरहेको बेला त्यसमा गम्भीर हुनुपर्ने बेला व्यवसायविरोधी विधेयक ल्याइएको बताइन् । पछिल्लो समय अमेरिकी डलरको भाउ अत्यधिक बढेकोले त्यसको असर उत्पादन लागतमा पर्ने भएकाले यसको समाधान हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइन् । लामो सयमपछि स्थायी सरकार गठन भए पनि सो अनुसारको उपलव्धि हासिल हुने ऐन नियममा सुधार नभएको भन्दै उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकमा सुझाव समेट्न आग्रह गरिन् ।
अहिलेकै व्यवस्थाअनुसार ऐन पारित भए सरकारी अधिकारीहरूबाट शक्तिको दुरूपयोग हुनसक्ने र लगानीमैत्री वातावरण बन्नै नसक्नेतर्फ व्यवसायीहरूले मन्त्रीको ध्यानाकर्षण गराए । कार्यक्रममा महासंघको प्रदेश–३ का अध्यक्ष दिनेश श्रेष्ठले नयाँ कानुनले व्यवसायीलाई जेल हाल्ने कुरामै जोड दिएको बताए । “विधेयकलाई नसच्याउने हो भने अब हामी उद्योगी व्यवसायीलाई राख्न जेलहरूको संख्या बढाउनुस्,” उनले भने । कानुनहरूले उद्योगी व्यवसायीले गलत काममात्रै गर्छन् भन्ने मान्यतामा आधारित रहेर ऐन ल्याउन खोजिएको जिकिर पनि गरे ।
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि व्यवसायीहरूलाई बजार अनुगमनका नाममा दुःख दिइएको बताए । गोल्छाले बजार अनुगमनमा सञ्चारमाध्यम सहभागी गराएर व्यवसायीको मनोबल गिराउने काम बन्द गर्नुपर्ने धारणा पनि राखे । सरकारले निजी क्षेत्रलाई सकारात्मक रूपमा नहेर्दासम्म लगानी प्रवद्र्धन नहुने बताएका थिए । गोल्छाले नेपालमा उत्पादित वस्तुहरूको गुणस्तरका बारेमा सरकारले नै नागरिकमा चेतना बढाउन भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उद्योगमन्त्री यादवले बजारमा सरकार नभएको आभाष जनताले गरेको भन्दै सरकारको अनुभूति दिन अनुगमन तीब्र बनाइएको बताए । “अनुमगन राम्रो गरे उद्योगविरोधी भइने अनुगमन नग-यो उपभोक्ता मारमा पर्ने अवस्था छ,” मन्त्री यादव भन्छन्, “बरु मन्त्री पद छाड्न तयार छु तर बजार अनुगमन रोक्दिनँ ।” उनले आफूलाई दबाव दिन छाडेर सत्यका पक्षमा उभिन पनि व्यवसायीलाई सुझाव दिए । राम्रो काम गर्नेलाई ऐनले केही नगर्ने र जेल पनि जानु नपर्ने भन्दै उनले त्यस्तो अवस्था आउन नदिन व्यवसायी नै जवाफदेही बन्नुपर्ने धारणा राखे । “तपाइँहरू मसँग धेरै डराउनुहुन्छ भन्ने सुनेको छु, गलत काम नगर्नुस् मसँग डराउनुपर्देन,” मन्त्री यादवले भने, “सही र आम जनतालाई लाभ हुने काममा म सँधै सकारात्मक छु, तर गलत काम गर्नेलाई मबाट न्याय हुन सक्दैन ।”