कारोबार संवाददाता
शुक्रवार, भदौ २९, २०७५
563

काठमाडौं-नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले निर्धारित समयमा गुणस्तरयुक्त निर्माणको जिम्मेवारी पूरा गर्न आफूले सहजीकरण गर्ने बताएका छन् ।
महासंघको आसन्न महाधिवेशनमा अध्यक्षका लागि प्रत्याशी रहेका देउजाले रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा साना ठूला सबै व्यवसायीको समस्या आपूmले बुझेको भन्दै सरकार र व्यवसायीबीच पुलको काम गर्ने धारणा राखे ।

देउजा निर्माण व्यवसायमा लामो समयदेखि आबद्ध छन् भने महासंघमा पनि लामो समयदेखि आबद्ध छन् । “नेतृत्वमा नपुगेको स्थितिमा नीति भएरमात्रै हुँदैन रहेछ । त्यसैले मसंग भएको नीतिलाई नेतृत्वमा पुगेर कार्यान्वयन गर्ने सोच छ,” उनले भने ।
महासचिव देउजाले आफूभन्दा अग्रजहरूले गरेका कामप्रति आफू सन्तुष्ट नभएको पनि जिकिर गरे । उनले थपे, “म उहाँलाई सम्मानपूर्वक सल्लाहकारमा बस्न अनुरोध गर्छु र मलाई साथ दिन आग्रह गर्छु ।”
सरकारले अघि सारेको ‘समृद्ध नेपाल–सुखि नेपाली’को नारालाई साकार पार्न निर्माण व्यावसायीहरूको ठूलो भूमिका रहेको पनि उनको भनाइ छ । उनले भने, “यसलाई कसरी वैज्ञानिक र साना निर्माण व्यवसायीको हितमा गर्न सकिन्छ ? भनेर मैले लामो अध्ययन गरेको छु, त्यसैलाई व्यवहारमा उतार्नका लागि मेरो उम्मेदवारी हो ।”
कार्यक्रममा अध्यक्षका अध्यक्षका अर्का प्रत्यासी रवि सिंहले ठूला व्यवसायी र साना निर्माण व्यवसायीको बीचमा भएको खाडललाई पुर्नका लागि आफू पुनः नेतृत्व लिन चाहेको बताए । यस्तै, संघका सल्लाहकार यक्षध्वज कार्कीले संघमा नेतृत्व गर्ने मानिसको अभाव भएको बताउँदै पुनः अध्यक्षका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए । अध्यक्षका अर्का उम्मेदवार हुमनाथ कोइरालाले आफूसँग ‘भिजन’, मिसन र एक्सन रहेको भन्दै आफूले अध्यक्षको लागि उम्मेदवार घोषणा गरेको बताए ।