कारोबार संवाददाता
बिहिवार, आश्विन १८, २०७५
355

मंगलबार मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा संघीय मामिला तथा प्रशासनमन्त्री लालबाबु पण्डितसँग भेटघाट तथा छलफल कार्यक्रममा मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडाले यस भेगका उद्योगी–व्यवसायीहरूका समसामयिक समस्याहरूको समाधानका लागि भरपुर पहल गर्न अनुरोध गरे ।
कावा अध्यक्ष मुन्दडाले विराटनगर नेपालको औद्योगिक–व्यवसायिक क्षेत्रको अलावा प्रदेश नं. १ एवं मुलुककै आर्थिक, सामाजिक र राजनीतिक केन्द्र बिन्दुका रूपमा अग्रणी भूमिका खेल्दै आएको बताए भने तथा ऐतिहासिक नगरी विराटनगरको मौलिकतालाई मध्यनजर गर्दै हाल प्रदेश नं. १ को अस्थायी राजधानीका रूपमा रहेकोमा यसलाई स्थायित्व दिनका लागि माननीय मन्त्रीको महत्वपूर्ण भूमिकाका लागि अनुरोध गरे । लालबाबु पण्डित यस क्षेत्रबाट चुनाव जित्नु भई नेपाल कम्यूनिष्ट पार्टीका शीर्षस्थ नेता हुनुका साथै केन्द्रीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुनु भई निजामती कर्मचारी ऐन संशोधन गरी ख्याति कमाउनु भएकोमा कावा अध्यक्ष मुन्दडाले प्रशंसा गर्नुहुँदै विराटनगरवासीका लागि गौरवको प्रतीक बन्नु भएको बताए ।

देशलाई आठवटा प्रधानमन्त्री, थुप्रै मन्त्रीहरू, राज्यकै सबैभन्दा बढी राजस्व दिने ठाउँ, नेपालमै पहिलो उद्योगी व्यवसायीहरूको संस्था दिने ठाउँ, मुलुककै दोस्रो ठूलो स्वास्थ्य हव, व्यवस्थित क्षेत्रिय विमान स्थल, खुला तथा चौडा सडक, विशेष आर्थिक क्षेत्रको स्थापना, एकीकृत भन्सार जाँच केन्द्र, कटहरीसम्म रेल्वे, विराटनगर–जोगवनी–बंगलादेशको सिधा रेलवे सञ्चालनको सम्भावना, जोगवनी–किमाथान्का हुँदै तिब्बत जोड्ने छोटो राजमार्ग निर्माणाधिन रहेको, भन्सार क्षेत्रमा सुख्खा बन्दरगाह एवं मल्टी मोडेल ट्रान्सपोर्ट सुविधाका कारण राष्ट्रिय प्राथमिकतामा परेको साथै, सिमावर्ती सहर भएको कारणले विराटनगरमा भारत, बंगलादेश तथा भुटानसँग सोझै व्यापारिक सम्बन्ध विकास गर्ने क्षमता रहेकाले प्रदेश नं. १ को राजधानी विराटनगर नै उपयुक्त रहेको तथ्य बताए ।
१ नं. प्रदेशको विभिन्न ठाउँहरूमा रोजगारी सिर्जना गर्न औद्योगिक क्षेत्रको स्थापनामा विराटनगरकै भुमिका महत्वपूर्ण रहेको तथा प्रादेशिक राजधानीका लागि नगरको बनिबनाउ पूर्वाधारसहित हाल कायम रहेका मन्त्रालयका भवनहरू, सरकारी खाली जमिनहरू पर्याप्त मात्रामा रहेको र यस प्रकारको अनुकूलता यस प्रदेशका अन्य सहरहरूमा उपलब्ध नरहेको बताए । साथै, विराटनगर सामाजिक साँस्कृतिक र साम्प्रदायिक सद्भाव कायम रहेको र सहज–सुलभ वातावरणका कारण ठूलो संख्यामा यस नगरमा बसाई सराई भइरहेको बताउँदै प्रदेश नं. १ को राजधानी विराटनगर नै बनाउन उपयुक्त रहेको बताए ।
त्यसैगरी नेपालको कुल गर्हस्थ्य उत्पादन जीडीपी ३००० विलियन भएकोमा ९८३ विलियन कर उठाउने संघीय सरकारको बजेट मार्फतको लक्ष्यले यो मुलुक दक्षिण एसियाकै उच्च कर इकोनिमीमा पुगेको बताए। साथै, स्थानीय तहमा लगाइएको अत्याधिक करको चापले उद्योगीहरू थप मारमा परेको बताए । जिल्ला निकासी कर नलाउन निर्णय भइसके तापनि कार्यान्वयनमा नदेखिएको जानकारी गराए ।
सरकारी कार्यालयहरूको कामकाजलाई छिटो छरितो बनाउन दक्ष कर्मचारी एवं आधुनिक प्राविधिहरू अवलम्बन गर्न अनुरोध गरे । आर्थिक त्रुटिका लागि व्यापारीलाई थुनछेक गर्ने, मनोवल गिराउने र लगानी हतोत्साहित गर्ने कार्य नगरी आर्थिक रूपमै दण्ड जरिवाना गरिनुपर्ने अनुरोध गरे ।
त्यसैगरी पुराना ऐन कानुनलाई समय सापेक्ष संशोधन गर्ने, विधिको शासन लागू गर्ने, एक आपसमा बाझिएका नीति नियममा सामान्जसयता ल्याउने, उद्यमीहरूलाई इलभ उपलब्ध गराउने, कार्य संस्कृति र आर्थिक संस्कारको विकास गर्ने तथा उद्योगी व्यवसायीलाई हेर्ने नजरप्रति सकारात्मकता हुनुपर्ने बताए । त्यसैगरी राजनीतिक चेतना, शैक्षिक जागरण र आर्थिक क्रियाशीलताको केन्द्र बिन्दुको रुपमा विराटनगरलाई नै राजधानी वनाउनु पर्ने कुरामा जोड दिनु हुँदै त्यसतर्फ माननीय मन्त्रीको सकारात्मक पहलका लागि अनुरोध गरे ।
त्यसैगरी विराटनगरलाई राजधानी बनाउने सवल पक्षहरू सम्बन्धी मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले तयार पारेको विराटनगरका समष्टिगत विवरण उद्योग संगठन मोरङका कावा अध्यक्ष राकेश सुरानामार्फत प्रस्तुत गरिएको थियो । रिपोर्टमा विराटनगरको पौराणिक स्थल, ऐतिहासिक स्थल, राजनीतिक पहुँच, औद्योगिक एवं व्यावसायिक सवलता, भौगोलिक एवं सामाजिक परिवेश, राजधानी बन्न चाहिने मुख्य पूर्वाधारहरू एवं महत्वपूर्ण सबल पक्षहरू, संवैधानिक व्यवस्था तथा विराटनगर स्थायी राजधानी घोषणा गर्दाका फाइदाहरू सहितका कुराहरू समेटिएका थिए ।
कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष मुकेश उपाध्यायले विराटनगरको पूर्वाधार विकासमा अझ जोड दिनुपर्ने बताए । त्यसैगरी मोरङ व्यापार संघका पूर्वअध्यक्ष खेमचन्द जैनले निकासी करले उद्योगीहरू हतोत्साहित भइरहेको बताए । साथै, संघका पूर्वअध्यक्ष शंकरलाल अग्रवालले प्रदेशिक राजधानी विराटनगरभन्दा अन्यत्र सारिए दूरगामी परिणामहरू देखा पर्न सक्ने तथा नामको मात्र राजधानी हुने हुँदा समयमै सतर्कता अपनाउनु पर्ने बताए ।
कार्यक्रममा ओपन फ्लोरपश्चात् प्रमुख अतिथि मन्त्री लालबाबु पण्डितले आफू विराटनगर नै प्रादेशिक राजधानी रहने कुरामा विश्वस्त रहेको बताउँदै त्यसका लागि आवश्यक पहलकदमी आफूले सम्बन्धित निकायमा गरिरहेको बताए । साथै, कार्यक्रममा उपस्थित उद्योगी–व्यवसायीहरूलाई यस क्षेत्रमा उत्पादनमुलक र निर्यातमुखी उद्योगहरू परिमाणात्मक रूपमा बढाउन आग्रह गर्नुहुँदै उद्योगी व्यवसायीका जायज मागहरू आफु समक्ष ल्याए त्यसलाई परिपूर्ति गर्न आफू सदा अग्रसर रहने बताए ।
हाल एकीकृत सम्पत्ति करअन्तर्गत घर जग्गा करमा विशेष व्यवस्था ल्याउन आफूले गृहकार्य गरिरहेको बताउँदै कर असुली गर्न तोकिएका सम्बन्धित निकाय बाहेक अन्य निकायले उठाए कडा कदम चाल्ने बताए । उनले विराटनगरमा निर्माणाधीन रिङ रोडको विकल्पमा रानी–नेमुवा नहरको बाटोलाई २ लेन बनाउन गृहकार्य भई रहेको बताए । साथै, राजमार्ग जोड्न छिटो र वैकल्पिक मार्गको रूपमा निकट भविष्यमै पुष्पलाल चोकदेखि गछियासम्मको २ लेन बाटो निर्माण कार्य थालनी हुने बताए । साथै, आफूले विराटनगरमा विभिन्न कार्यालय स्थापना गर्न, विकासका आयोजनाहरू ल्याउन निरन्तर भूमिका खेलिनै रहेको बताए ।