कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५
355

काठमाडौं-साना, मझौंला र मध्यम उद्यमीलाई प्राविधिमार्फत वित्तीय स्रोतसम्म पहुँच दिलाउन युके एडको एक्सेस टु फाइनान्स कार्यक्रम (सक्षम) सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेसनल प्रालिले ‘अनलाइन रिभर्स फ्याक्टरिङ प्ल्याटफर्म’ तयार पारेको छ ।
होटल हिमालयमा आयोजित कार्यक्रममा सक्षमका टिम लिडर निर्मल दाहाल तथा एफवान सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले साझेदारी पत्रमा हस्ताक्षर गरे । कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङरबुद्ध एयरका वित्त निर्देशक रमेश लुइँटेल उपस्थित थिए ।

यो साझेदारीअन्तर्गत एफवान सफ्ट इन्टरनेसनलले क्विक भुक्तानी नामक एउटा प्ल्याटफर्म तयार पारेर त्यसलाई सञ्चालन गर्नेछ । यो प्लेटफर्मले ठूला व्यापारिक फर्म तथा कम्पनीका साना तथा मझौला आपूर्तिकर्तालाई बैंकमार्फत जोड्नेछ । जसबाट ठूला व्यापारिक फर्म तथा कम्पनीका लागि सामान आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले तुरुन्तै कर्जा पाउनेछन् ।
यो प्लेटफर्म प्रयोग गरेर बैंकले आपूर्तिकर्तालाई उनीहरूले सामान तथा सेवा बिक्री गर्ने ठूला व्यापारिक फर्म तथा कम्पनीले जारी गरेको विलका आधारमा छोटो अवधिको जोखिमरहित कर्जा दिन सक्नेछन्। यसबाट सामान तथा सेवा आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले बिनाधितो सहज ढंगले ऋणको सुविधा पाउनेछन् ।
सक्षमका टिम लिडर निर्मल दाहालले व्याक्ति तथा व्यापार दुवैले डिजिटल इनोभेसनमार्फत वित्तीय स्रोतमा सहज पहुँच प्राप्त गरेको बताए । ‘सक्षम भाग्यमानी पनि छ र यस्ता इनोभेसनलाई हामीले जोडदार रूपमा वकालत पनि गरेका छौं, र यो नयाँ विकास पनि त्यही यात्रामा एउटा नयाँ पाइला हो, उनले भने ।
डिजिटल इनोभेसनलाई जोड दिँदै एफवान सफ्टका सिइओ सुवाष शर्माले भने, “नेपालको नेतृत्वदायी फिनटेक कम्पनीका रूपमा हामी त्यस्ता फाइनान्सियल टुल तयार गर्न पाउँदा खुसी हुन्छौं, जसले नेपालको अर्थतन्त्रको सम्भावित ठूलो क्षेत्रलाई परिवर्तन गर्न सक्छ ।”
हाम्रा इनोभेसनहरूले हरेक व्याक्तिलाई सरल, सुरक्षित र सस्तोमा सधैं वित्तीय पहुँच दिन्छन् । छिटो भुक्तानीले साना तथा मझौला उद्यमी मात्रै होइन ठूला कम्पनीलाई पनि फाइदा पुग्नेछ । यो साझेदारी तथा परियोजनाको सम्भावनाका कारण हामी निकै उत्साहित पनि छौं ।
सन् २००४ मा स्थापना भएको एफवान सफ्ट इन्टरनेसनल नेपालको फाइनान्सियल टेक्नोलोजीमा नेतृत्वदायी कम्पनी हो । कम्पनीमा अहिले चार सय जनाले काम गरिरहेका छन् । सक्षम युके एडको वित्तीय लगानीमा सञ्चालित वित्तीय पहुँचसम्बन्धी कार्यक्रम हो ।