कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५
378

सरकारले पाँच दिनभित्र उखु उत्पादक किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई कारबाही गर्ने चेतावनी दिएको छ । पटक–पटक ताकेता गर्दा पनि उद्योगीले किसानलाई रकम वितरण नगरेकाले पाँच दिनभित्र भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी कारबाही गर्ने तयारी गरेको हो । सोमबार बसेको पाँच मन्त्रीको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले पाँच दिनभित्र उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई कारबाही गर्ने बताए । अर्थमन्त्री डा. युवराज खतिवडा, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल, उद्योग तथा आपूर्तिमन्त्री मातृका यादव, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, सामान्य प्रशासन मन्त्री पण्डित र सम्बन्धित मन्त्रालयका सचिवहरूबीच छलफल भएको थियो ।

यसअघि प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पनि एक साताभित्र उखु किसानको बाँकी रकम उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको थियो । सरकाले उद्योगीलाई तत्काल रकम उपलव्ध गराउन निर्देशन दिएपछि उद्योगीले अझै रकम भुक्तानी गरेका छैन ।
आइतबार मात्रै उखु किसानहरूले आन्दोलन गर्ने चेतावनी दिएका थिए । हालसम्म उद्योगीले २ अर्ब र नेपाल सरकारले अनुदान बापतको १ अर्ब २८ करोड रकम उखु किसानलाई भुक्तानी गर्नुपर्ने छ ।
यस्तै बैठकले खाद्यान्न, चिनी लगायतउपभोग्य वस्तुको सहज आपूर्ति र सुपथ मुल्यमा वितरणको विषयमा प्रभावकारी अनुगमनलाई अभियानका रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । दसैं तिहार र छठलाई लक्षित गरी बजार अनुगमनका लागि विशेष टोली खटाउन वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जनशक्ति कम भएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालयबाट तत्काल काजमा जशक्ति उपलव्ध गराउन निर्देशन भएको छ ।
यस्तै चाडपर्वका बेला उपभोक्ताको स्वास्थ्यमाथि प्रत्यक्ष हानी पुग्ने गुणस्तरहीन, कमसल वस्तुको बिक्री वितरण तथा कृत्रिम अभावलाई पूर्णरूपमा नियन्त्रण गर्न नियमक निकायलाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिइएको छ ।