धर्मेन्द्र कर्ण
बिहिवार, आश्विन २५, २०७५
999

फेसनको बजार गाउँको स्कूलदेखि सिंहदरबारसम्म रहेको पाइन्छ । स्कूलको पोशाकमा सर्ट प्यान्ट कोट हुन्छ । सिंहदरबारका सांसद मन्त्रीले सामान्य रूपमा सर्ट प्यान्ट कोटको प्रयोग गरेको पाइन्छ । पोशाकलाई फेसनले प्रभाव पार्छ भने फेसनले कपडाको उत्पादनमा प्रभाव पार्छ ।
फेसन डिजाइनको इतिहासलाई १९ औं शताब्दीमा शुरू भएको मानिन्छ । चाल्र्स फ्रेड्रिक वर्थले तयार पारेको पहिरनबाट उनलाई पहिलो फेसन डिजाइनरको रूपमा भनिएको आधुनिक उद्योगले स्वीकार गरेको पाइन्छ ।

तर पहिरनको इतिहास त्यो भन्दा धेरै पुरानो रहेको मानिन्छ । धार्मिकरूपमा चित्रित देवी देवताको हाल काल्पनिक पहिरनलाई सिरियल र फिल्ममा प्रयोग गरिएकोबाट पनि पहिरन धेरै पुरानो रहेको पुष्टि हुन्छ ।
पहिरहनको डिजाइन अगुवाहरूको अनुशरणबाट हुने गरेको छ । यसले सामाजिक आर्थिक र राजनीतिक महत्व पनि बोकेको पाइन्छ ।
गान्धीमा भारतलाई अंग्रेजहरूको उपनिवेशबाट मुक्त गराउने राजनीतिक चेत पैदा भएपछि उनको पहिरन एक खालको देखिन्छ भने त्यो भन्दा अगाडि वकिल पढ्न देशबाहिर जाँदाको पहिरन एक खालको रहेको देखिन्छ । राजनीतिक चेतअघि उनको पहिरन सुट प्यान्ट टाइ नै रहेको छ भने त्यसपछि उनले कम्मर मुनिको आङ ढाक्न सेतो धोती लगाएको देखिन्छ । यो गान्धीको आइकनिक पहिरन मृत्युवरण गर्दासम्म रहेको पाइन्छ ।
गान्धीको त्यो सादगीपूर्ण जीवनले धेरै भारतीयहरूलाई प्रभावित पारेको थियो । पछि खादीको कपडाले बनेको कुर्ता पाइजामा टोपी वा कुर्ता धोती टोपी गान्धीको आइकनिक पोशाक बनेको छ । यसका प्रभाव नेपाली राजनीतिज्ञ विशेषगरी कांग्रेसका नेताहरूमा परेको पाइन्छ ।
एक जानकारका अनुसार बेलायती उपनिवेशसँग लडिरहेका बेला जानेबेला बेलायतीहरूले लुटेर जानेबारे गान्धी जानकार थिए । स्वराज भएपछि विकासका लागि चाहिने खर्च जोहो गर्न भारतीयहरूलाई तत्काल गाह्रो हुन सक्ने सोचेर सादगीपूर्ण जीवनको आधारमा आफूले पहिरन धारण गरी अरूलाई अनुशरण गर्न लगाएको हुनसक्ने उनको अनुमान छ ।
आम्दानीको आधारमा लुगाफाटामा खर्च गर्नुपर्ने सिकाइ व्यवहारिक हुने गान्धीको यो बुझाईले त्यतिखेर देशको अर्थतन्त्रको भारलाई कतिको वहन गर्यो त्यो अर्थविद्ले गणना गर्ने विषय हो ।
तर अर्थतन्त्रमा वस्तुको उत्पादनलाई फेसन र आम्दानीले प्रभाव पार्ने गरेको छ । वस्तु उत्पादनमा थपिने करले पनि उत्पादन र बजारलाई प्रभावित पारिरहेको हुन्छ ।
पछिल्लो सरकारले देशको अर्थतन्त्रलाई ठीक ढंगले नयाँ राजनीतिक आलोकमा बुझेर करलाई व्यवहारिक बनाउन नसकेको खुद्रा कपडा व्यापारी र सिलाई गृहहरूको बुझाइ छ ।
ललितपुरको मंगलबजार नजिक कपडाको खुद्रा व्यापार गरी बसेका मुना खानले यस्तो बताए । गतवर्षको तुलनामा सर्टिङ सुटिङको कपडामा कम्तीमा १० देखि १५ प्रतिशतको मूल्य वृद्धि भएको उनले जनाए ।
सिलाई गरी लगाउन बानी विस्तारै तयारी पोशाक (रेडिमेड)ले फेरिरहेको छ । अर्को तर्फ १० देखि १५ प्रतिशतको मूल्यवृद्धिले यो वर्ष अघिल्लो वर्षको तुलनामा राम्रो नभएको उनले जनाए ।
साना खुद्रा व्यापारीले त सर्टिङ सुटिङमा बर्सेनी केही विक्रीमा वृद्धि देखिए पनि यो व्यापारका लागि चाहिने आवश्यक बिक्री भन्दा कम भएको बताउँछन् ।
यस्तै सिलाई गर्ने लाजिम्पाटको कपडा पसल द ओपेरा सर्टिङ सुटिङ एन्ड टेलरिङ पोइन्टले यो वर्ष व्यवसाय ध्वस्तैजस्तो रहेको जनाएको छ । यो दसैं तिहारमा व्यापार राम्रो नभए त खत्तमै भएको ओपेरासँग सम्बन्धित व्यक्तिले बताए ।
खानका अनुसार नेपाली बजारमा सर्टिङ सुटिङको फेब्रिक स्वदेशी र विदेशी उत्पादनको बिक्री हुन्छ । नेपाली उत्पादनमा गुणस्तरीयताको अभाव हुन्छ । नेपाली उत्पादनका कपडा छिट्टै खिइएर जाने खालको धागोबाट बनाइएको पाइन्छ । कपडाको चमक पनि छिट्टै जाने गरेको छ । यसले गर्दा यो न्यून आय भएका परिवारको आवश्यकता टार्न बिक्री हुने गरेको छ ।
भारतीय कपडा गुणस्तरीय भएकाले सर्टिङ सुटिङका लागि भारतीय कपडाको माग बढी हुन्छ ।
भाउको आधार मान्ने हो भने भारतीय उत्पादनको भाउ नेपाली उत्पादनको भाउभन्दा दोब्बरले फरक हुन्छ ।
अहिले भारतमा जीएसटीको समस्याले त्यहाँको व्यापारीलाई सामान पठाउन गाह्रो भइरहेको छ भने यहाँ पनि भिन्न तहका सरकारले कर लगाउने गरेकाले कपडाको भाउ थप बढ्न गएको छ ।
सर्टिङ सुटिङको कपडाको मागमा यसले पनि प्रभाव पारेको देखिएको उनीहरूको बुझाइ छ । एक अनुमानअनुसार अमेरिकाको २ खर्ब अमेरिकी डलर भन्दा बढीको कपडा बजारमा आधा प्रतिशत हिस्सा ओगट्न सके कम्तीमा १ अर्ब अमेरिकी डलर बराबरको बजार नेपालीको हुन सक्छ । यसले सीधा रोजगारी कम्तीमा १ लाखलाई दिन सक्छ ।
तर गएको दुई वर्षमा यस्तो गरिएको छैन । कपडा उत्पादकहरूको समस्या पनि समाधान हुन सकेको छैन । संविधान घोषणा भई निर्वाचनबाट निर्वाचित दुई तिहाईको भनिएको शक्तिशाली सरकारले यसबारे ठोस नीति र योजना बनाएको देखिएको छैन ।
नेपाली बजारमा सर्टिङ सुटिङको कपडा बाहिरबाट विशेषगरी भारतबाट आउने गरेको छ । सर्टिङ सुटिङको फेसन परम्परागत रूपमा पुरूषहरूका लागि हुने गरेको भएपनि यसमा परिवर्तन आइरहेको छ ।
महिलाहरूको अधिकारवादी आन्दोलनले पुरूषसरह हुनुपर्ने अभियानले गर्दा कार्यालय र करर्पोरेट क्षेत्रका महिलाहरूले सर्टिङ सुटिङका सुट प्यान्ट टाइमा सजिएर आउन थालिएको विषय अब नौलो छैन ।
सर्ट भन्नेबित्तिकै औपचारिक पोशाकको रूपमा आउँछ । वा भनौ विशेष अवसरमा यसको प्रयोग गरिने वर्गीकरण भित्र पर्छ । महानगरपालिका र गैरमहानगरीय क्षेत्रमा पनि अब मूल्यका आधारमा सर्टिङ सुटिङको उपलब्धता सहज भएको छ । सर्ट उद्योगले विविध खालको धागोको उपयोग गरि बनाइएको लुगा (फेब्रिक)का विभिन्न गुणस्तर तयार गरिरहेको छ । यस्ता फेब्रिकहरूको निर्माणमा उद्योगहरूले चलनचल्तीको फेसनलाई ध्यान दिइएको हुन्छ । सर्टिङको फेब्रिकले विशेषगरी तयारी सर्टको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
सर्टको फेब्रिकले उपभोक्ताको खरिद निर्णयलाई प्रभावित गर्छ । फेब्रिकको प्रदर्शन मात्रैले सर्टको बजार भूमिकालाई प्रभावित गर्छ भन्ने आवश्यक छैन । यसका लागि महत्वपूर्ण विषयमा फेब्रिकले गर्ने कार्य महत्वपूर्ण हुन्छ । स्तरीय फेब्रिकका लागि डिजाइन, फेसनको ट्रेन्ड, उपभोक्ताको रोजाइ, मूल्य र बजारको अवस्था महत्वूर्ण विषय हुन् ।
मानिसहरूले फेब्रिक छनौट गर्दा आफ्नो जीवन शैलीलाई सुहाउने खालको फेब्रिकलाई प्राथमिकतामा राख्छन् । यसका अतिरिक्त फेब्रिकमा प्रयोग गरिएको रंग र तिनको प्याटर्न पनि छनौटलाई प्रभाव पार्छ । सर्टिङ सुटिङ तयार गरिरहेका बेला त्यसको उपादेयतालाई पनि ध्यान दिइ फेब्रिक छनौट गर्ने गरिन्छ ।
त्यसैले फेब्रिकका उत्पादक, यसका खुद्रा बिक्रेता र उपभोक्ताले चलनचल्तीको शैलीमा भइरहेको परिवर्तनलाई ध्यान दिइरहेका छन् ।
अन्तर्राष्ट्रियरूपमा पुरूषको पहिरनमा तीव्रगतिको वृद्धि भएको देखिएको छ । हालका वर्षहरूमा पुरूषहरू पनि फेसनका बारेमा ध्यान दिन थालेको पाइएको छ ।
पुरानो आँकडाहरूको आधारमा भारतबाट लुगाहरू आयात ३ अर्ब बराबरको रहेको छ । हरेक सर्टको महत्व उनीहरूको फेब्रिक, प्याटर्न, रंग, बटन, पकेट र बाहुलाका आधारमा फरक खालको हुन्छन् ।
सर्ट एकै खालको र एकलकाटे खालको आकार, शैली र डिजाइनको हुनु हुँदैन ।
एकै किसिमको सर्ट दुई पुरूषले लगाउँदा उनीहरूको शारीरिक आकार प्रकार रंगरूपका आधारमा फरक खालको अनुभव र शैलीको प्रदर्शन गर्न भएको हुन सक्छ । झन त्यो सर्ट फरक खालको सुटमा मिसिएर डिजाइन भएको छ भने त्यसले अर्कै अनुभव गराउँछ ।
सफा चहकिलो र चट्ट मिलेको सर्टले आत्मविश्वासमा बृद्धि गराउनका साथै सहज अनुभव गराउँछ । पुरूषहरूले पनि सर्टिङ सुटिङको बारेमा आफ्नो छनौटलाई चलनचल्तीको फेसनको ट्रेन्डसँग मिलाएर गर्नु राम्रो हुन्छ ।
मानिसको धारणा र कर्पोरेट जगतको हैसियतको आधारमा सर्टिङ सुटिङको विकास गरिएको पाइन्छ । तयारी पोशाकले परम्परागत रूपमा सिलाएर लगाउने पोशाकको चलन र बजारलाई प्रभावित गरिरहेको छ ।
पोशाकले व्यक्तिको हैसियत र फेसनको रूचिलाई दर्शाउँछ । काम गर्ने वातावरणले पनि पहिरनलाई प्रभावित गर्छ । कम्पनीहरूले सेमि फर्मल र सेमी क्याजुअल पोशाकलाई कार्यस्थलमा अनुमतिमा दिइरहेकाले यसमा परिवर्तन आइरहेको छ ।
देश संघीय लोकतान्त्रिक गणतन्त्र भएको छ । तीन सरकार गठन भएका छन् । तीन तहका सरकारले आफ्ना आफ्ना क्षेत्रका उत्पादकहरूको मार्का बुझ्नु पर्ने देखिन्छ । गुणस्तरीय उत्पादन भारतबाट आयात गर्नु भन्दा देशभित्र गर्न पाउने वातावरण मिलाउनु पर्ने आवश्यकता देखिन्छ । सर्टिङ सुटिङको उत्पादन नेपाल भित्र भए यसकाल देशभित्रको बजार त छ नै छिमेकीकको बजार पनि छ ।