कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५
324

सिन्धुली- सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ खनियाँखर्कका विनोद ढोडारी आफ्नै गाउँमा खुवा उद्योग सञ्चालन गरी आत्मनिर्भर बनेका छन् । थोरै लगानीमा सुरु गरेको उद्योगले अहिले उनलाई दामसँगै नाम पनि दिएको छ ।
अन्य व्यवसायका तुलनामा खुवा उद्योग सञ्चलान गर्दा राम्रो आम्दानी हुने देखेपछि उनले व्यावसायिक रूपमा खुवा उद्योग सुरु गरेका हुन् । उत्पादित दूध बिक्रीका लागि किसानहरूले सदरमुकामका डेरीहरूमा पुराउनुपर्ने बाध्यता थियो । उनले भने, “दुग्ध किसानलाई पनि सजिलो हुने दुई, चार पैसा पनि कमाइने अहिले त सजिलो भयो ।”

ग्रामीण भेगका किसानहरूले दूध उत्पादन गरेर सोचेजस्तो आम्दानी लिन नसकिरहेको अवस्थामा अर्गानिक खुवा उद्योग सञ्चालनमा आएपछि किसानलाई दूध बेच्न सहज भएको अर्गानिक खुवा उद्योगका सञ्चालक विनोदले बताए । उद्योगमा दैनिक दुई सय लिटर दूधबाट दिनमा ४० देखि ४५ केजी खुवा उत्पादन हुने गरेको उनले बताए ।
अर्गानिक खुवा उद्योग सञ्चालनमा आएपछि दूध बिक्री गर्ने किसानहरूलाई निकै सहज भएको छ । गोलञ्जोर गाउँपािलकाको नयाँखर्क, हिर्दिङ, चिसापानी, खनियाँखर्क, छब्बिस र विजयछापका दुग्ध किसानका लागि दूध बिक्री वितरण गर्न सहज भएको हो ।
स्थानीय दुग्ध किसान शोभा बानियाँ गाउँमा दूध बिक्री हुन थालेपछि बजार लाने तथा कम मूल्यमा दिनुपर्ने झन्झटबाट मुक्त भएको बताउँछन् । पहिलेको भन्दा अहिले मूल्य पनि राम्रो दिएका छन्, उनले भनिन्, “अब व्यावसायिक रूपमै भैंसीपालन गर्ने सोच बनाएकी छु ।”
शोभा जस्तै हर्कबहादुर थापा पनि गाईको दूध गाउँमै बिक्री हुन थालेपछि दंग छन् । ३ वटा गाई पालेका हर्कबहादुर झिसमिसे बिहानीमै दूध लिएर अर्काको घरमा पुग्थे । तर, अहिले समय फेरिएको छ । बिहानै अर्काको घर–घरमा पुग्नु पर्ने, पैसा पनि भनेको समयमा नदिने, उनले भने, “हामी गाई, भैंसी पाल्नेहरूलाई अहिले त सजिलो भएको छ ।”
यता उद्योगका सञ्चालक विनोद ढोडारी भने दूध उत्पादनको कमीका कारण बजारको माग धान्न नसकिएको सुनाउँछन् । महाभारत क्षेत्रमा पालिएको पशुको दूध शुद्ध हुने भएकाले प्राकृतिक अर्गानिक खुवा खोज्दै आउनेको संख्या दिनदिनै बढिरहेको उनले बताए । खनियाँखर्क क्षेत्रमा खुवा सबैको रोजाईमा पर्ने भएकाले खुवाको बिक्री वितरण र आम्दानीसमेत राम्रो भइरहेको सञ्चालक ढोडारीले बताए । यस उद्योगमा उत्पादन हुने खुवा खुर्काेट, खन्याखर्क, सिन्धुली सदरमुकामलगायत छिमेकी जिल्लाका बजारहरूमासमेत बिक्री वितरण हुने गरेको छ । विशेषगरी शाकाहारीले खुवा खाने र कोसेलीका रूपमा खुवा लैजाने गरेको उनको भनाइ छ ।
उनले खुवा उद्योग सञ्चालनमा ल्याएसँगै गाँउका अन्य ४ जना युवासमेत स्वोजगार भएका छन् । दुग्ध उत्पादन बढे १० देखि १५ जनालाई रोजगारी दिन सकिने उनको भनाइ रहेको छ । यस क्षेत्रका स्थानीयहरू विशेष गरी दुग्धजन्य पशु पालनमा संलग्न छन् ।