दीननाथ बराल
शुक्रवार, पुष २७, २०७५
475

पोखरा-युनाइटेड क्लवको आयोजनामा आज(शुक्रबार)देखि पोखरामा नवौं संस्करणको पोखरा महोत्सव सुरु हुने भएको छ । माघ ८ गतेसम्म अमरसिंह चौरमा आयोजना हुने उक्त महोत्सवको अन्तिम तयारी पूरा भएको क्लबले जनाएको छ ।
शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि पोखरामा नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना निर्माणमा अगुवाइ गरी सेती नदी संरक्षणमा लागेको क्लबले आयोजना गर्न लागेको महोत्सवमा २ सय ५० वटा स्टल रहेको क्लबका अध्यक्ष लालकाजी गुरुङले बताए । महोत्सवमा २ लाखदेखि २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । महोत्सवबाट १ करोड २६ लाख १० हजार रुपैयाँ आम्दानी गरी ८७ लाख ५० हजार खर्च हुने लक्ष्य राखिएको अध्यक्ष गुरुङले जनाए । महोत्सवबाट करिब ३८ लाख ६० हजार बचत गर्ने उनले जनाए ।

महोत्सव अवधिभर विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिहरुको प्रदर्शनी एवं जानकारी, व्यावसायिक संघ–संस्थाहरुका बारेमा जानकारी, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरालगायत गण्डकी प्रदेशमा रहेको पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुति, कृषि तथा अटो मेला र बाल उद्यानका गतिविधिहरु सञ्चालन हुने महोत्सव प्रचार–प्रसार संयोजक शान्ताबहादुर थापाले बताए ।
महोत्सवको अवसरमा निःशुल्क रूपमा पोखराको लेखनाथ पचभैयामा निर्माणाधीन जियोलोजिकल पार्कको अवलोकनको व्यवस्था मिलाइने क्लबका संस्थापक अध्यक्ष तथा पोखरा जियोलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेलले बताए । पोखरामा मानवनिर्मित खुला चिडियाखानाको निर्माण हुनुपर्छ भन्ने अवधारणा अनुरूप क्लबको पहलमा लेखनाथको पचभैयामा ४५ लाख ८५ हजार रुपैयाँ र विभिन्न सरकारी निकायको सहयोगमा जियोलोजिकल पार्क निर्माणको काम तीव्र गतिमा अगाडि बढेको बख्रेलले बताए ।
बख्रेलका अनुसार पोखरा महानगरपालिकाको वडा नम्बर ३०, ३१, र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रको १ सय ३४ हेक्टर जमिनमा पशुपन्छी उद्धार केन्द्रका लागि भवनहरुको निर्माण, खानेपानी जडान, यातायातको सहजीकरणका लागि बाटो निर्माण कार्य अगाडि बढेको छ । गण्डकी प्रदेश सरकार बाट १ करोड ५० लाख पोखरा जियोलोजिकल पार्कका लागि बजेट विनियोजन भएको बख्रेलले बताए ।
पोखराको सेती नदीलाई फोहोरबाट बचाउन तथा शान्ति सुरक्षाको सुनिश्चितता गर्ने उद्देश्यसहित पृथ्वीचोक र बुद्धचोक जोडने सेती नदी पुलमा सीसी क्यामरा जडान गरिएको थापाको भनाइ छ । उक्त सीसी क्यामरा जडानमा ५ लाख रुपैयाँ खर्च लागेको उनले जनाए । महोत्सवमा सर्वसाधरणलाई ८० र विद्यार्थीलाई ६० रुपैयाँ टिकटदर कायम गरिएको छभने अपांग, वृद्धवृद्धा, एकल महिला, पत्रकार र सुरक्षा निकायलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । महोत्सवको मुख्य प्रायोजकमा जगदम्बा स्टिल प्रालि, विशिष्ट प्रायोजकमा रारा तयारी चाउचाउ छ ।