कारोबार संवाददाता
सोमवार, चैत्र ११, २०७५
345

गुल्मी- गुल्मी उद्योग वाणिज्य संघमा प्रजातान्त्रिक प्यानल नै विजयी भएको छ । प्रजातान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष श्रीप्रसाद भलामीसहित सबै प्यानल विजयी भएका हुन् । भलामीले साझा प्यानलका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयलाई १ सय ३७ मत अन्तरले पराजित गरेका छन् ।
भलामीले ३ सय ४ र पाण्डेले १ सय ६७ मत प्राप्त गरेका छन् । त्यस्तै लोकतान्त्रिक प्यानलका उपाध्यक्षहरुमा ईश्वरी पौडेल, रामप्रसाद पन्थी, मृगेन्द्र श्रेष्ठ विजयी भएका छन् । महासचिवमा ताराप्रसाद भुसाल, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा ईश्वरी बेलवासे र सह–कोषाध्यक्षमा मनिराम अर्याललगायत १० जना सदस्य नै विजयी भएको निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए ।

साझा प्यानलको तर्फबाट उपाध्यक्षहरु रेमलाल पाण्डेय, दुर्गाचन्द्र बोहरा र वीरेन्द्र भुसालले उम्मेदवारी दिएका थिए । महासचिवमा रामप्रसाद पन्थी, सचिवमा फर्शुराम पाण्डेय, कोषाध्यक्षमा रामु सुनार र सह–कोषाध्यक्षमा खड्गप्रसाद श्रेष्ठ तथा बाँकी १० सदस्य उम्मेदवार थिए ।
नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा ९१.१९ प्रतिशत मत खसेको थियो । कुल ५ सय ६८ मतदाता रहेकोमा ५ सय १८ मत खसेको कार्यालय प्रमुख तोमलाल पन्थीले बताए । साँझ साढे ७ बजेबाट मतगणना भएको थियो ।
नवनिर्वाचित अध्यक्ष श्रीप्रसाद भलामी ०५५ सालमा गुल्मी उद्योग वाणिज्य संघमा प्रवेश गरेका थिए ।
उनी ०६० सालमा संघको आमन्त्रित समदस्यहुँदै ०६६ सालमा कार्यसमितिमा प्रवेश गरे । वि.सं. ०६९ सालमा कार्यसमितिको उपाध्यक्ष र ०७२ सालको अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष भएका थिए । भलामी नेपाली कांग्रेस जिल्ला कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिसमेत हुन् । उनी रेसुंगा बहुमुखी क्याम्पस र रेसुंगा एफएमको सञ्चालक समितिमा समेत सक्रिय छन् ।