नवराज कार्की
मंगलबार, चैत्र १२, २०७५
317

ओखलढुुंगाको खिजीदेम्बामा थोदेम्बा पर्यटकीय महोत्सव तथा पिकेदेम्बा हाफ म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ । ०७५ चैत २२ र २३ गते महोत्सव र म्याराथन दौड प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ । यसअघि ०७४ सालमा पहिलो पटक आयोजना गरिएको महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।
यसपटक भने रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने जनाइएको छ । गत वर्ष भने अघिल्लो वर्षको आर्थिक हिसाब–किताब पारदर्शी नभएको भन्दै आयोजकबीच विवाद हुँदा महोत्सव हुन सकेको थिएन । यस पटक भने गैरसरकारी संस्था दर्ता गरेर महोत्सव आयोजना गरिएको छ । छुट्टै महोत्सव आयोजक समिति बनाएर कार्यक्रम आयोजना गरिए पनि खर्च विवरण भने अझै सार्वजनिक गरिएको छैन ।

महोत्सव तथा म्याराथन दौड प्रतियोगिताको आयोजना पोकली थोलेदेम्बा पिके पर्यटन विकास संरक्षण समिति र ओखलढुंगा टुरिजम डेभलपमेन्ट कमिटीले आयोजना गरेको शुक्रबार पत्रकार सम्मेलन गरेर जनाइएको छ ।
पिकदेम्बा अल्ट्रा हाफ म्याराथनका रूपमा आयोजना हुने म्याराथन दौड २१ किलोमिटरको छ । म्याराथन महिला तथा पुरुष गरी दुई विधामा हुनेछ । प्रथम हुनेले ५० हजार नगद पुरस्कार पाउने ओखलढुंगा पर्यटन विकास समितिका कोषाध्यक्ष कुंगा शेर्पाले जानकारी दिए । उनका अनुसार ४२ सय मिटर उचाइमा रहेको पिकेडाँडाबाट सुरु भई २५ सय मिटर उचाइमा रहेको खिजीदेम्बा गाउँपालिकाको खिजिफलाटे बजारमा आएर म्याराथनको समापन हुनेछ ।
म्याराथनले ओखलढुंगा र सोलुखुम्बुको सीमानामा रहेको पिकेडाँडा साथै ओखलढुंगाकै अग्लो देम्बाडाँडाको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने लक्ष्य राखिएको कोषाध्यक्ष शेर्पाको भनाइ छ । म्याराथनमा राष्ट्रिय तथा अन्तर्राट्रिय धावकको सहभागिता हुने आयोजकको दाबी छ । शुक्रबारसम्म ३० जनाले दौडमा आवदेन दिएको बताइएको छ ।
प्रतियोगितामा दोस्रो, तेस्रो, चौथो, पाचौं, छैटौं र सातौं स्थान हाँसिल गर्नेलाई समेत क्रमशः चालीस, तीस, आठ, पाँच, तीन र एक हजार नगद पुरस्कार प्रदान गरिनेछ । पिकेबाट सगरमाथा, मकालु, कञ्चनजंघा, ल्होत्सेलगायतका अग्ला हिमाल शिखरको नजिकबाट अवलोकन गर्न पाइने र दुई दर्जन बढी प्रकारका गुराँस प्रत्यक्ष हेर्न पाइन्छ । सरकारले घोषणा गरेको मुख्य सय गन्तव्यमध्ये पिके पनि मुख्य गन्तव्य हो ।
सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भिœयाउने लिएको लक्ष्यलाई साकार पार्नसमेत म्याराथनले थप सहयोग पु¥याउने कार्यक्रम संयोजक ओङ्दा शेर्पाले बताए ।