कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६
240

रूपन्देहीका डेरी व्यवसायीले दुग्धजन्य पदार्थको शुद्धतामा जोड दिनुपर्ने बताएका छन् । रूपन्देही डेरी व्यवसायी समितिको आठौं साधारण सभामा बोल्ने सरोकारवालाहरूले देशमा स्वरोजगार हुने र कृषिलाई प्रवद्र्धन गर्ने उद्योगका रूपमा रहेको पेशालाई दीर्घकालिन बनाउन दुग्धजन्य वस्तुको शुद्धतामा जोड दिनुपर्ने बताएका हुन् ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा रूपन्देही दुग्ध उत्पादन सहकारी संघका अध्यक्ष लेखनाथ पाण्डेले दैनिक ५ लाख लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको भन्दै डेरी व्यवसायीबाट स्थानीय उपभोक्तासमक्ष पु-याउने काम गर्दै आएको बताए ।

ठूलो लगानीकर्तालाई लक्षित गरी खाद्य ऐन बनाइँदा साना व्यवसायीको लगानी खतरामा परेको दाबी गर्दै उनले सरकारबाट यसलाई संशोधन गर्नुपर्ने बताए । अहिलेको निर्वाहमुखी व्यवसायलाई सरकारले सुलभमुखी कर्जाको व्यवस्था, व्यवसायीको लगानीका आधारमा वर्गीकरण गर्नुपर्ने उनले बताए । सरकार नै पुनर्संरचनाको अवधिमा रहेको भन्दै यस्तो अवस्थामा ल्याएको खाद्य निर्देशिका कार्यान्वनमा भएका बाधालाई मूल्याकन गर्न उनले सुझाव दिए । समितिका अध्यक्ष नेत्र पाठकले संस्थाको प्रगति प्रतिवेदन पेश गर्दै युवाको अग्रसरतामा स्वदेशमा रोजगारको राम्रो विकल्पका रूपमा यो पेशा भएको बताए ।
रूपन्देही डेरी व्यवसायी समितिमा स्थापनाका बेला ७२ वटा डेरी भए पनि अहिले ३ सय २५ डेरी व्यवसायी आवद्ध छन् । संघले दूधजन्य पदार्थको शुद्धताका लागि आन्तरिक अनुगमनसमेत गर्दै आएको जनाएको छ । व्यवसायीहरू खुला दूध व्यवसायीको महासंघ गठन गरी अगाडि बढ्ने योजनामा रहेको पाठकले बताएका छन् । दूधको बजारमा मूल्य तथा गुणस्तरमा समानता ल्याइ दूधको पेशालाई उपभोक्तामुखी बनाउन स्रोतबाट मापदण्ड पु-याएर फ्याट र एसएनएफका आधारमा दूध खरिद गर्ने व्यवस्था ल्याउने योजना रहेको उनले जानकारी दिए । व्यवसायीले सरकारको नीति ठूलो उद्योगीको हितलाई लक्षित गरिएको भन्दै साना उद्योगीलाई समेत समेट्ने गरि नयाँ ऐन ल्याउन सुझाव दिए ।