कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५
1611

रुसमा बिहीबारबाट सुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । यस च्यानलमा मात्र विश्वकप फुटबल प्रत्यक्ष प्रसारण नेपाली भाषामा कमेन्ट्री हुनेछ भन्दै कम्पनीले प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टेटर सञ्जीव शिल्पकारले खेलको नेपाली कमेन्ट्री गर्ने जनाएको छ । डिस होमले नेपाली दर्शकका लागि नेपाली भाषालाई प्राथमिकतामा राख्दै कमेन्ट्री दिन लागेको हो ।
खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केही चर्चित व्यक्तित्वहरू पनि आबद्ध हुँदैछन् । फुटबल जगत बाहिरका विशेष अतिथिहरू पत्रकार ऋषि धमला, कमेडियन विल्सन विक्रम राईका प्रतिक्रियाहरू पनि कार्यक्रममा प्रसारण गरिने छन् । चार वर्षमा एक चोटी आउने विश्वकपको प्रसारणको प्रचार गर्न डिस होमले एउटा प्रोमोसन भिडियो पनि बनाएको जानकारी गराउँदै उक्त भिडियोमा नेपाल आइडलका शीर्ष तीनमा पर्न सफल गायक प्रताप दासले स्वर दिएको जनाएको छ । ‘फुटबलको महाकुम्भ’ नामक भिडियो नेपाली च्यानलले विश्वकपलाई लक्षित गरेर सार्वजनिक गरेको पहिलो गीत पनि हो ।
प्रसारण अघि र पछि, खेलको विश्लेषण र समिक्षा पनि नेपाली भाषामा नै हुने हुँदा विश्वकपलाई सामान्य नेपाली दर्शकहरूले पनि सजिलै बुझ्न सकिने कुरा डिसहोमले जनाएको छ । नेपालमा पहिलो पटक विश्वकप नेपाली भाषामा प्रसारण हुन लागेकोले दर्शकहरूमा कौतुहलता र गुणस्तरमा शंका उपशंकासमेत छ तर नेपालका प्रख्यात तथा फुटबल कमेन्टेटरीमा विज्ञता हासिल गरेका सञ्जीव शिल्पकार भएकोले गुणस्तरमा कुनै कमी नहुने डिशहोमले विश्वास दिलाएको छ ।