लामाटार बूढानीलकण्ठ बस सेवा सुरु
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५
1719

यातायात क्षेत्रमा सिन्डिकेट अन्तसँगै विभिन्न रुटमा यातायात सेवा विस्तार हुँदै गर्दा ललितपुरको लामाटारबाट काठमाडौंको बूढानीलकण्ठसम्म बस सेवा सञ्चालनमा आएको छ । ‘हामी सबैको यातायात’ ले बस सञ्चालनमा ल्याएको हो । सोमबार ललितपुरको लामाटारस्थित पाटीचौरमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक विनोद सिलवाल, वरिष्ठ पत्रकार ऋषि धमला, महालक्ष्मी नगरपालिका–९ का वडाध्यक्ष वासुदेव शर्मा, ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठ र ७ का वडाध्यक्ष नहकुल थापाले संयुक्त रूपमा बस सेवाको शुभारम्भ गरेका थिए ।
२७ सिटको टाटा कम्पनीको १३ वटा बसले सोमबारबाट पाटीचौर, धाराचौर, शंखादेवी, विष्णुडोल, सिद्धिपुर, इमाडोल, ग्वार्को, सातदोबाटो, लगनखेल, रत्नपार्क, महाराजगन्ज हुँदै बूढानीलकण्ठसम्म र फर्केर इमाडोलबाट आई टीकाथली, चाङ्गथली, लुभु, डाँडाथोकबाट पाटीचौर हुँदै धाराचौरबाट सिद्धिपुर निस्कनेगरी दायाँ र बायाँ दुईतर्फी सवारी सञ्चालनमा ल्याएका छन् । मनोरम प्राकृतिक सुन्दरताले भरिएको ललितपुरको पर्यटकीय क्षेत्र शंखादेवी र लामाटार क्षेत्रलाई धार्मिक पर्यटकीय स्थान काठमाडौंको बूढानीलकण्ठसँग बस सेवामार्फत सीधा जोडेको छ । यसबाट आन्तरिक पर्यटनमा समेत टेवा पुग्नेछ ।
बस सेवाको सुरुमै उत्साह देखिएको छ । अबको दुई महिनाभित्र ३६ वटा बस सञ्चालनमा आउने हामी सबैको यातायात कम्पनीका अध्यक्ष मोहन सापकोटाले बताए । बस सेवा सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह छाएको छ । बस सेवा उद्घाटनमा महिला, वृद्धवृद्धाको समेत उल्लेख्य उपस्थिति थियो ।