कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
549

विश्व फुटबलको महाकुम्भ मेला बिहीबार (आज) राति ८ः४५ देखि रसियामा सुरु हुँदैछ । विश्वकपको नजिकिएसँगै विभिन्न देशका जर्सी र झन्डाको कारोबार पाँचथरको फिदिमा बढेको व्यवसायीहरूले बताएका छन् । विश्वकपको नजिकिएसँगै आफूले समर्थन गरेको देशको जर्सी लगाएर युवा–युवतीहरू बजारमा हिँड्न थालेका छन् । गाडी र मोटरसाइकलमा आफूले समर्थन गरेको देशको झन्डा फहराउँदै हिँड्ने पनि गरेका छन् ।
सदरमुकाम फिदिमा रहेका अधिकांश फेन्सी पसलहरूमा जर्सी खोज्नेहरूको संख्यामा वृद्धि भएको केप्छाकी इन्टरप्राइजेज पसलका प्रोपाइटर अनुराग मगरले बताए । सदरमुकाम फिदिम रहेको उनको पसलबाट दैनिक ५ हजार बराबरको जर्सी बिक्री भइरहेको पनि मगरले जानकारी दिए ।

फिदिम बजारको म्यानरोडमा फेन्सी र स्पोर्टस सामग्रीको बिक्री गर्दै आएका सन्तोष लावतीले पछिल्लो समय जर्सी र झन्डा किन्ने युवा–युवतीहरू संख्या उल्लेखीय रूपमा रहेको बताए । अहिले उनको पसलबाट दैनिक रूपमा करिब ५ हजारदेखि ६ हजार रुपैयाँबराबरको जर्सी बिक्री हुने गरेको उनले बताए ।
सदरमुकाम फिदिममा मात्र नभई ग्रामीण बजारमा पनि जर्सीको माग तीव्र रहेको मिक्लाङ गाउँपालिका ४ रवि बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका बिक्रम मगरले बताए । केही महिना अगाडि मात्र ५ सय थान जर्सी ल्याएको थिए अहिले पसलमा जर्सीको अभाव भएको उनले सुनाए । जर्सीको माग धेरै भएको उनले बताए । बजारमा धेरै देशको जर्सी उपल्बध भए पनि विशेष गरेर ब्राजिल, अर्जेन्टिना, स्पेन, इंग्ल्यान्ड, जर्मनी आदि देशको जर्सी अत्याधिक बिक्री भएको व्यवसायीहरू बताउँछन् ।
-दीपक बोहोरा