कोहलपुरमा सञ्चालनमा रहेको पाँचतारे मापदण्डको जिल्लाकै पहिलो होटल सेन्ट्रल प्लाजा र उसले पाएको प्रमाणपत्र ।   
कारोबार संवाददाता
सोमवार, असार २५, २०७५
449

बाँकेको कोहलपुर–४ किरणनाला छेउमा निर्माण गरेर सञ्चालनमा आएको चारतारे होटल सेन्ट्रल प्लाजा बाँकेमा अन्तर्राष्ट्रिय स्तरको मान्यता पाउने पहिलो होटल बनेको छ ।
चारतारे मापदण्ड पूरा गरेर पाँच तारेका लागि आवेदन दिएको सो होटलले अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त गरर यस क्षेत्रमै यसरी मान्यता पाउने पहिलो होेटल बनेको हो भने पाँच तारे मापदण्ड पूरा गर्ने तयारी गर्दै सोका लागि आवेदन दिएको होटल पहिलो हो ।
होटलका प्रबन्ध निर्देशक देवानन्द अर्यालका अनुसार, होटल सेन्ट्रर प्लाजाले अन्तर्राष्ट्रिय स्तरको मान्यता ‘आइएसओ ९००१ः२०१५’ प्राप्त गरेको हो । “यससँगै होटल सेन्टर प्लाजा अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त गुणस्तरीय होटलमा दरिएको छ,” प्रबन्ध निर्देशक अर्यालले उत्साहित हुँदै भने, “स्थानीय स्तरबाट उपलब्ध श्रमिकलाई प्रोत्साहित गर्दै प्रशिक्षण र उनीहरूको स्तरवृद्धिबाट स्तरीय सेवा प्रदान गर्दै अगाडि बढेका छौं ।”
गत वैशाखबाट पूर्णरूपमा सञ्चालनमा आएको ८० कोठाको सुविधासम्पन्न सो होटलले ८० प्रतिशत रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइएको जनाएको छ । “त्यसमा पनि ६० प्रतिशत स्थानीय महिलालाई रोजगारीको सुनिश्चितता गरिएको छ,” प्रबन्ध निर्देशक अर्यालले भने, ‘गत मंसिरबाट सेवा सुरु गरेर वैशाख २५ गतेबाट पूर्ण रूपमा ५ तारे स्तरको सम्पूर्ण सुविधा उपलब्ध गराइँदै आएको छ ।”
‘क्लालिटि फुड र चुस्त सेवा नै आईएसओ पाउनुको प्रमुख कारण हो,” प्रबन्ध निर्देशक अर्यालले भने, “यसले हामीलाई अझ उत्साहित बनाएको छ ।” कोहलपुर बजारमा ९ वर्षदेखि स्तरीय होटल सञ्चालन गरिरहेका अर्यालले गत मंसिरयता वडा नं. ४ किरणनाला छेउमा २२ कठ्ठा क्षेत्रफलमा अत्याधुनिक भवनमा सेवा सुचारु गरेका थिए । सेवाको स्तरवृद्धिमा कुनै कसर बाँकी नराखिने अर्यालको भनाइ छ ।
भारतीय धार्मिक पर्यटकको आगमनमा अत्याधिक वृद्धि भएपछि तथा आन्तरिक पर्यटक पनि धेरै आउन थालेपछि पछिल्लो समयमा आएर बाँकेमा स्तरीय र तारे होटल एकपछि अर्को गरी खुल्दै आएका छन् ।
बाँकेको होटलले सानो समयमै अन्तर्राष्ट्रिय स्तरको मान्यता पाउनु निकै ठूलो उपलब्धि रहेको जनाउँदै यसबाट यो जिल्लालाई होटल हब बनाउने बाटो खुलेको होटल एसोसिएसन नेपाल बाँकेले जनाएको छ ।
उता, नेपालगन्ज उद्योग वाणिज्य संघ र कोहलपुर उद्योग व्यापार संघले पनि बाँकेको होटलले पहिलो पटक अन्तर्राष्टियस्तरको मान्यता पाएकोमा यो जिल्ला अब अन्तर्राष्टियस्तरमै पर्यटन र व्यवसायका लागि पहिचान बनाउन सफल भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
भारतीय र नेपालकै आन्तरिक पर्यटक वृद्धि भएपछि नेपालगन्ज र कोहलपुरमा अहिले करिब आधादर्जन बढी तारे होटलहरू सञ्चालनमा आएका छन् भने केही नयाँ होटलहरू पनि निर्माणाधीन अवस्थामा छन् । नेपालगन्जलाई होटल हबका रूपमा विकास गरिने होटल व्यवसायीहरूको प्रतिबद्धता छ ।