अन्नपूर्ण पदमार्गका होटलको राजस्व गाउँपालिकामा
रासस
सोमवार, असार २५, २०७५
260

पोखरा-विगत लामो समयदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्यापले)ले अन्नपूर्ण पदमार्ग क्षेत्रका होटलबाट लिँदै आएको राजस्व यस आर्थिक वर्षदेखि अन्नपूर्ण गाउँपालिकाले लिन सुरु गरेको छ । संविधानले प्रदान गरेको अधिकारलाई उपयोग गर्दै सो गाउँपालिकाले होटलबाट राजश्व लिन सुरु गरेको हो ।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार यसै आर्थिक वर्षबाट गाउँपालिकाले यहाँको राजस्व संकलन सुरु गरेको हो । अन्नपूर्ण पदमार्ग क्षेत्रअन्तर्गत भनुवाभन्दा माथि रहेका २६ वटा होटलप्रति, सार्वजनिक र ऐलानी जग्गामा छन् ।
ती जग्गामा रहेका होटलसँग वार्षिक ३० हजार रुपैयाँ राजस्व लिने गरिएको उनले जानकारी दिए । अन्य लालपुर्जा भएका जग्गाका हकमा भने ५ हजार राजस्व लिने गरिएको उनको भनाइ छ । विश्वकै उत्कृष्ट पदमार्ग मध्येमा पर्ने यस पदमार्गमा अघिल्लो वर्ष २८ हजार विदेशी पर्यटकले पदयात्रा गरेकोमा यसवर्ष उक्त संख्या वृद्धि भई ३२ हजार पुगेको समाजसेवी एवं अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव,२०७४ का संयोजक ललित गुरुङले जानकारी दिए ।
अन्नपूर्ण आधार शिविरबाट उद्घाटन गरिएको महोत्सव आधार शिविर हुँदै छोम्रोङ र घान्द्रुक गरी तीन चरणमा सम्पन्न गरिएको थियो । महोत्सवसँगै अन्नपूर्ण क्षेत्रको थप प्रचारप्रसारले पनि पर्यटकको संख्या वृद्धि भएको उनको भनाइ छ । विदेशी पर्यटकका साथै स्वदेशीसमेत गरी यसवर्ष लगभग ५० हजार पर्यटक अन्नपूर्ण आधार शिविर क्षेत्रमा पदयात्रा गरेको अनुमान छ ।
अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवअन्तर्गतका कार्यक्रमका साथै अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म गरिएको अन्नपूर्ण म्याराथनले यहाँको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याएको बताउँदै संयोजक गुरुङले अन्नपूर्ण म्याराथनलाई आगामी वर्षमा निरन्तरता दिइने धारणा व्यक्त गरे । गाउँपालिकाले अन्नपूर्ण क्षेत्रमा बढ्दै गएको पर्यटकीय आकर्षणलाई दृष्टिगत गर्दै सन् २०२० लाई पर्यटन वर्ष मनाउने तयारी गरेको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रमा भएका होटलको स्तरोन्नतिका साथै संख्या वृद्धि र त्यहाँस्थित प्राकृतिक स्रोत साधनको उचित व्यवस्थापनका लागि गाउँसभाले कार्यदलसमेत गठन गर्ने निर्णय गरिसकेको छ । पदमार्ग क्षेत्रका २ हजार मिटरभन्दा माथि राखिएका व्यावसायिक होटेलका साथै खरककको हालसम्म कुनै किसिमको नापनक्सा नभएका कारण त्यसको समेत यथोचित व्यवस्थापनका लागि कार्यदल गठनको तयारी गरिएको अध्यक्ष कुँवरले जानकारी दिए ।
“पदयात्रामा पर्यटकको आकर्षणलाई दृष्टिगत गरी पहिलो पटक ग्रेट अन्नपूर्ण पदमार्गको २५ किमि पदमार्गको डीपीआर तयार भएको छ,” उनले भने, “डीपीआरसँगै पदमार्गलाई व्यवस्थित गर्ने लागत अनुमानसमेत तयार भइरहेको छ ।” आजभन्दा ४० वर्षअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक चित्रा वा भकारीले बारेका झुपडीमा बस्ने गरेकोमा पछिल्ला समयमा भने ठाउँ–ठाउँमा सुविधासम्पन्न होटल स्थापना गरिएको संरक्षण उपसमिति भनुवाका उपाध्यक्ष जंगबहादुर गुरुङले जानकारी दिए । पछिल्लो तीन दशकयता पर्याप्त होटल नरहे पनि पदयात्रा मार्गस्थित रहेका सिन्ह्वा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छे आधार शिविर र अन्नपूर्ण आधार शिविरमा जम्मा २६ वटा होटेल सञ्चालनमा रहेको उहाँले जानकारी दिए ।
अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको हालसम्मको निर्धारित मापदण्ड अनुसार प्रत्येक होटलमा छवटा कोठाका दरले १५६ वटा कोठा छन् । सन् १९५० जुन ३ तारिख फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रूपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।
समुद्री सतहदेखि चार हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्रा पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको हो । पदमार्ग क्षेत्रस्थित देउराली पूर्वतर्फको पहाडमा स्पष्ट रुपमा देखिने बुद्धाकृति, दोभान र हिमालको बिचमा अति प्राचीन पुजनीयम् बराह र उक्त मन्दिर परिसरबाट देखिने १०८ धारा, झिनुडाँडास्थित तातो पानीको कुण्डजस्ता स्थललाई व्यवस्थित गर्दै तिनको प्रबद्र्धन गर्नु आजको आवश्यकता हो, स्थानीयवासी बताउँछन् ।

 वासुदेव पौडेल-रासस