नेपाली कपडा उद्योग संकटमा
कारोबार संवाददाता
मंगलबार, असार २६, २०७५
570

इटहरी-सरकारी नीति व्यवसायी मैत्री नहुँदा नेपाली कपडा उद्योग संकटमा पर्दै गएका छन् । ९० प्रतिशत स्वदेशी कच्चापदार्थमै सञ्चालित उद्योगहरू व्यवसायी मैत्री सरकारी नीतिको अभावमा संकटमा पर्ने अवस्था रहेको कपडा उद्योगीले गुनासो गरेका हुन् ।
सुनसरीको इटहरीस्थित प्रगति टेक्स्टाइल, जयकमल होजियारी, रिलायन्स स्पिनिङ मिल्सलगायत कपडा एवं धागो उद्योगहरूको स्थलगत अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै उद्योगीहरूले गुनासो गरेका हुन् ।
स्वदेशकै श्रमिक र स्वदेशी कच्चापदार्थको प्रयोगमार्फत देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएका कपडा उत्पादन गर्ने उद्योगबारे सरकारले दीर्घकालीन निर्णय लिन नसक्दा उद्योगहरू बन्द हुने खतरा बढेको भन्दै उद्योगीहरूले यस्ता उद्योगलाई प्रोत्साहन दिने खालका नीति ल्याउन आग्रह गरे ।
उद्योगीहरूले आगामी आर्थिक वर्षको बजेटले २० वर्षदेखि पाउँदै आएको ७० प्रतिशत कर छुटको व्यवस्था हट्दा नेपाली कपडाको उत्पादन लागत १३ प्रतिशतसम्म बढ्ने भन्दै त्यसले छिमेकी देशबाट अवैध रूपमा आयात हुने कपडासँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । धागोबाट १०० प्रतिशत भ्यालु एड गरेर कपडाको उत्पादन हुने गरेको नेपाल कपडा उद्योग संघका उपाध्यक्ष जितेन्द्रकुमार लोहियाले बताए । “बजेट सार्वजनिक गर्नुअघि हामी मन्त्रालयसँग परामर्शमै थियौं, तर राम्रो आश्वासन पाए पनि बजेट भने अर्कै किसिमले आयो,” उनले भने, “खुला सिमानाका कारण अवैधरुपमा कपडा आयात हुने गरेकाले पनि स्वदेशी व्यवसायी समस्यामा परेका छन् ।” उनले बजार अनुगमन गरेर अवैध आयात रोक्न मागसमेत गरे ।
उद्योगीहरूले कपडामा अहिले चोरी पैठारी र न्यून बिजकीकरणको समस्या रहेको बताए । “एक डलरमा केरुङ नाकाबाट जति पनि सामान भित्र्याउन सकिन्छ, नेपालमा भने प्रतिकिलो ४ डलर बिक्री मूल्य छ । भन्सारबाट एक डलरको सामान आयो भने त्यसमा हामीले कसरी प्रतिस्पर्धा गर्ने ?” उपाध्यक्ष लोहियाले भने, “एक डलरमा धागोमा लाग्ने कच्चापदार्थ धागो पनि आउँदैन । त्यसको बुनाइ, रंगाईलगायत कसरी गर्न सकिन्छ ?” उपाध्यक्ष लोहियाले सरकारले व्यवसायमैत्री नीति ल्याएमा ५० प्रतिशत क्षमतामा चलेका उद्योग दुई महिनामै शतप्रतिशत क्षमतामा सञ्चालन गर्न सकिने बताए । नेपालमा साना ठूला गरेर २ सयवटा टेक्सटाइल उद्योग छन् ।