कारोबार संवाददाता
मंगलबार, असार २६, २०७५
786

डेढ दशकदेखी बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्नका लागि सात सदस्यीय कार्यदल गठन भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको संयोजकत्वमा सोमबार भएको बैठकले हेटौंडा उद्योग सञ्चालन गर्नका लागि कार्यदल गठन गरेको हो । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगकोे सञ्चालन सम्वन्धमा नेपाली सेनाको क्षेत्रबाट मेकानिकल, मार्केटिङ र टेक्सटाइलसम्बन्धी ज्ञान भएका तीन जना अधिकृत स्तरका कर्मचारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट प्रशासन तथा संस्थान महाशाखाका प्रमुख र मेकानिकल इन्जिनियर, अर्थ मन्त्रालयका संस्थान समन्वय शाखाका उपसचिव र विज्ञका रूपमा मन्त्रालयबाट मनोनित एकजना मेकानिकल इन्जिनियरसमेत जम्मा ७ जना सम्मिलित कार्यदल गठन गर्ने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ ।
कार्यदलले तोकिएको कार्य शर्तअनुसार हेटौंडा कपडा उद्योगको अध्ययन विश्लेषण गरी १५ दिनभित्र नेपाली सेना र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समक्ष प्रतिवेदन पेस गर्नुपर्ने छ । कार्यदलले उद्योगको मिल मेसिनरी र पूर्वाधारको अवस्था, उद्योग सञ्चालनको मोडालिटी, लगानीको मोडालिटी, उद्योगको आर्थिक तथा कानुनी पक्ष र उद्योग सञ्चालन लागतको बारेमा अध्ययन गर्ने मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए ।

बन्द रहेको हेटौंडा कपडा उद्योग १ सय ८८ रोपनीमा फैलिएको छ । यो उद्योग नेपाल र चीन सरकारको सयुक्त लगानीमा २०३२ मा स्थापना भई २०३५ देखि कपडा उत्पादन गर्दै आएको थियो । विभिन्न कारणले ०५६ फागुनबाट बन्द यस उद्योगको वार्षिक क्षमता २३ सय मेट्रिक टन धागो, २ करोड ५० लाख मिटर कपडा उत्पादन क्षमता थियो । सरकारले ०६९ माघ १२ को मन्त्रिपरिषद् बैठकले हेटौंडा कारखानाको सम्पत्ति सेयर लगानीका रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभेको थियो ।
तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गरी २ वर्षभित्र बजारको प्रतिस्पर्धी बनाउने घोषणा गरेका थिए । सेना, प्रहरी तथा निजामती सेवाका लागि पोशाक तयार गरी बजारमा उपस्थिति जनाएपछि प्रतिस्पर्धाका अन्य सामग्री उत्पादनमा गरिने लक्ष्य थियो ।
सरकारले सुरक्षा निकायका लागि बर्सेनि अर्बाै रुपैयाँ पोसाकमा खर्च गर्दै आएको छ । या उद्योग सञ्चालनमा आउन सके बजारका लागि सरकार नै ठूलो खदिरकर्ता हुन्छ । सरकारी पूर्वाधारमा सञ्चालनमा आएपछि अन्य कम्पनीबाट भन्दा सस्तो मूल्यमा पाउन सकिने अनुमान छ ।