राष्ट्रिय लेखा पद्धतिलाई सुदृढ गर्दै समग्र अर्थतन्त्रको अवस्था आँकलन गर्ने उद्देश्यले सरकारले पहिलो पटक सञ्चालन गरेको नुवाकोटको आर्थिक गणनाको स्थलगत अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
दुई महिना लगाएर संकलन गरिएको तथ्यांकअनुसार जिल्लामा रहेका १२ वटा स्थानीय तह अनुसार व्यावसायिक प्रतिष्ठान (आर्थिक एकाइ) को संख्या ८ हजार ८ सय ९ रहेको उल्लेख छ । ती प्रतिष्ठानहरूमा महिला १३ हजार १ सय ९२ जना र पुरुष १८ हजार ८ सय ९० जना गरी ३२ हजार ८२ जना जनशक्ति आबद्ध भएको तथ्यांक कार्यालयका प्रमुख भविश्वर घिमिरेले जानकारी दिए ।
तथ्यांक कार्यालयको अनुसार तार्केश्वर गापामा ३ सय ८९ व्यावसायिक प्रतिष्ठान, लिखुमा ६ सय १, पञ्चकन्यामा ३ सय ५७, शिवपुरीमा ३ सय ५२ र ककनीमा ६ सय प्रतिष्ठान रहेको पाइएको छ ।
गणनाबाट प्रशासनिक, भौगोलिक र आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानहरूको संख्या, प्रतिष्ठानमा संलग्न तहगत, प्रकृति र लिंगअनुसार कर्मचारी संख्या, आर्थिक एकाइको घनत्व, कार्यरत जनशक्तिका आधारमा प्रतिष्ठानहरूको औसत आकार, तलबी र बेतलबी कामदारहरूको अनुपात, आर्थिक क्रियाकलापको क्षेत्र अनुसार प्रतिष्ठानहरूको अनुपातिक विवरण निकालिएको घिमिरेले बताए ।
आर्थिक गणनामार्फत प्रमुख पाँच आर्थिक क्रियाकलापहरू, पुँजीगत स्थितिका आधारमा आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानहरूको वितरण, आर्थिक क्रियाकलापको क्षेत्र अनुसार वैदेशिक पुँजीको अनुपात, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार आम्दानी, बिक्री र सञ्चालन खर्चको वितरण, दर्ता स्थितिअनुसार प्रतिष्ठानहरूको अनुपात, वैधानिकअनुसार प्रतिष्ठानहरूको अनुपात, व्यवसाय सञ्चालन हुने समय समेत प्रतिष्ठानहरूको विवरणसमेत तयार गरिएको छ ।
घिमिरेको अनुसार गणनामार्फत प्रतिष्ठानले ओगटेको भवन, जग्गाले ओगटेको क्षेत्रफल अनुसार वितरण, ऋणमा पहुँच हुने प्रतिष्ठानहरूको अनुपातलगायतका सूचकहरूसमेत निकालिएको छ ।
आर्थिक नीति, योजना निर्माण तथा प्रशासनिक कार्यमा, अध्ययन तथा अनुसन्धान, उद्योग, व्यापार, श्रम, अन्य आर्थिक क्रियाकलाप र सेवा प्रदान गर्ने क्षेत्र, तथ्यांकीय सर्वेक्षणहरूको नमुना तयार, नेपाल तथ्यांकीय व्यावसायिक रजिष्टर निर्माण र राष्ट्रिय लेखा तथ्यांकको अभिवृद्धिका लागि सार्वजनिक भएको नतिजालाई ऐतिहासिक मानिएको छ ।
रामहरि न्यौपाने