कारोबार संवाददाता
बुधवार, असार २७, २०७५
326

नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीमैत्री कानुन निर्माणका लागि पहल गरिदिन कानुनमन्त्री शेरबहादुर तामाङसमक्ष आग्रह गरेको छ । महासंघ अध्यक्ष विष्णुभाइ श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री तामाङलाई भेटी व्यवसायीमैत्री ऐन कानुनको अभावमा व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा जानकारी गराएको छ ।
व्यवसायीहरूको समस्या स्थायी रूपमा सम्बोधन हुने गरी यथाशीघ्र सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनका लागि पहल गर्न मन्त्री तामाङसमक्ष आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताए । प्रतिनिधिमण्डलमा अध्यक्ष श्रेष्ठसँगै महासचिव रामशरण देउजा, सदस्य शिव चौलागार्इं, महासंघका जनसम्पर्क अधिकृत रामचन्द्र गिरिलगायत सहभागी थिए ।

यसैबीच महासंघका उपाध्यक्ष पेम्बा लामा शेर्पाको बिरुवा कन्स्ट्रक्सन कम्पनीले जिम्मा पाएको जोमसोम कोरला नाका–अपरमुस्ताङ, तामखोला सडक खण्डको निर्माण कार्यमा संलग्न २० मजदुरको ट्रिपर दुर्घटनामा निधन भएकोेमा महासंघले दुःख व्यक्त गरेको छ । विज्ञप्ति जारी गर्दै महासंघले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा भएको उक्त दुर्घटनामा परी घाइते भएका १२ जनाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
अकल्पनीय र काबु बाहिरको परिस्थितिमा भएको यस घटनालाई भवितव्य ठान्दै महासंघले घाइतेहरूको उचित उपचारको व्यवस्थाका लागि आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन स्थानीय निकाय, ट्रेड युनियन, आयोजना कार्यालय, स्थानीय प्रहरी र सम्बन्धित निर्माण व्यवसायी सबैलाई अनुरोध गरेको छ ।