सागर परियार
बुधवार, असार २७, २०७५
444

जुम्लाकी कुन्जाङ पुटिङ तामाङको दैनिकी सिलाइ बुनाइमै बित्छ । बिहान उठेदेखि साँझसम्म आफ्नो काममा व्यस्त रहन्छिन् । उनको आफ्नै झोला उद्योग छ ।
धागोबाट विभिन्न खाले झोला उत्पादन गर्छिन् तामाङ । घरेलु तथा साना उद्योगबाट तालिम लिएपछि आफ्नै उद्यम सुरु गरेकी उनी अहिले अन्य ठाँउमा तालिम दिन जान्छिन् भने आफ्नै उद्योगमा ४ जना महिला उद्यमीलाई रोजगारीसमेत दिइसकेकी छिन् ।

धागोका झोला, पटुकी, टोपी, स्थानीय राडी, लिउलगायतका सामग्रीहरू उत्पादन भइरहेको उनको भनाइ छ । अर्डरअनुसार नै उत्पादन गरिन्छ । उनले भनिन, “महिलाका नाममा दर्ता भएको उद्योगमा कुल राजस्वको ३५ प्रतिशत छुट दिएपछि आफूलाई सहज भएको छ ।”
गाउँ–गाउँमा गएर उद्यमशिलताका बारेका जनाकारी दिएपछि अहिले गाउँमा पनि महिला उद्यमी बढ्दै गएका छन् । स्थानीय सरकार आएपछि विभिन्न उद्यमशीलताका कार्यक्रममार्फत प्रथामिकतामा राखेर महिलाहरूलाई सिप सिकाइरहेका छन् ।
सरकारले महिलाको नाममा घरेलु तथा साना उद्योग दर्ता गराउने व्यवस्था लागू गरेको छ । जसअनुसार उद्यमी बन्न चाहने महिलाहरूलाई कुल राजस्वमा ३५ प्रतिशत छुट दिने व्यवस्था भएकै कारण पछिल्लो समय जुम्लामा महिला उद्यमीहरू वृद्धि हुँदै गएका छन् ।
विभिन्न उत्पादनमूलक काममा यहाँका महिलाहरू अहिले व्यस्त हुन थालेका छन् । गाउँमा विभिन्न खाले उद्यमशिलताका काम गरिरहेका छन् । अहिले घरेलु तथा साना उद्योग विकास समिति जुम्लामा १ हजार ९ सय ३३ व्यवसाय उद्योग, १ हजार ३ सय ४० ठूला तथा साना उद्योग र १ सय ६० लघु उद्यम उद्योग गरी जम्मा ३ हजार ४ सय ३३ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय जुम्लाका उद्योग अधिकृत हरिभगत श्रेष्ठले बताए ।
१ सय ६० उद्योग गाउँपालिकाअन्र्तगतका उद्योगीहरूको घरदैलो पुगेर निःशुल्क रूपमा उद्योग दर्ता गरिएको उद्योग अधिकृत श्रेष्ठले बताए । उनका अनुसार दर्ता भएका उद्योगहरूमध्ये ७५ प्रतिशत महिलाको नाममा छन् ।
दुइटा ठूला उद्योगमध्ये पातारसी गाउँपालिमा यार्सा मिलिरल वाटर र चन्दननाथ नगरपालिमा एपी ब्रान्ड आर के डिस्टिलरी उद्योग दर्ता भएका छन् भने च्याउ, जडिबुटी र फर्निचर साना उद्योगमा दर्ता भएको अधिकृत श्रेष्ठको भनाइ छ ।
उद्योग दर्ता गराउँदा घरेलु तथा साना उद्योग विकासबाट प्रदान गरिने सेवा सुविधा सजिलै रूपमा उपलव्ध गराएको छ । नेपाल सरकारले यो वर्षबाट लागू गरेको लघुउद्यम उद्योग ७७ वटा जिल्लामध्ये पहिलोमा जुम्ला र दोस्रो रसुवा परेकाले घरेलु तथा साना उद्योग विकास समिति जुम्लामा अगाडि देखिएको घरेलु तथा साना उद्योग विकास समिति जुम्लाले जनाएको छ ।
उद्योग जुम्लाको कनकासुन्दरी, सिंजा, हिमा र तिला गाउँपालिकाका उद्योगीहरूले बजारमा आएर उद्योग दर्ता गर्न आउँदा यतायताको असुविधाले आवत–जावतमा हुने समस्यामध्ये नजर गरी उद्योग दर्ताका आवश्यक सम्पूर्ण कागजात बोकेर उद्योगीहरूको घरदैलो पुगेर निःशुल्क रूपमा सेवा दिएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय जुम्लाले जनाएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति जुम्लाका उद्योग अधिकृत हरिभगत श्रेष्ठका अनुसार केही दिनभित्रमा बजारको पहुँचभन्दा टाढा रहेका पातारासी, गुठीचौर र तातोपानी गाउँपालिमा पुगेर लघुउद्यम उद्योग दर्ता गराउन चाहने उद्योगीहरूलाई लघुउद्यम उद्योग दर्ता गराउने प्रमुख लक्ष्य राखिएको छ ।