कारोबार संवाददाता
बिहिवार, असार २८, २०७५
417

प्लास्ट नेपाल फाउन्डेसनले असोज महिनाको १९, २० र २१ गते काठमाडौंको भृकुटीमण्डपमा ‘प्लास्ट नेपाल–२०१८’ नामको प्लास्टिक प्रदर्शनीको आयोजना गर्न गइरहेको छ । यस फाउन्डेसनले गर्न लागेको यो प्रदर्शनी यस किसिमको दोस्रो संस्करणको प्रदर्शनी हुनेछ । पहिलो संस्करणको यस्तो प्रदर्शनी यसअघि २०७१ को कात्तिकमा सफलतापूर्वक आयोजना भएको थियो । अब हुन लागेको दोस्रो संस्करणको यो प्लास्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लास्टिक उद्योगहरु र छिमेकी मुलुक भारतलगायत अन्य देशका समेत करिब ५ सयवटा प्लास्टिक उद्यमी व्यवसायी र करिब ६० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएकोे छ ।
प्रदर्शनीमा प्लास्टिकजन्य स्वदेशी उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेसिन उपकरणहरु (रिसाइक्लिङ उद्योगसम्बन्धी प्रविधिहरु समेतका) को विभिन्न स्टलहरु राखिने छन् । यसवाट स्वदेशी उपभोक्ताहरुले नेपाली उद्योगहरुको उत्पादनको जानकारी पाउनेछन् भने उद्योगि व्यवसायीहरुले नविन प्रविधि र कच्चा पदार्थका सम्बन्धमा विविध जानकारी पाउने छन् ।
प्लास्टिकको बहुपक्षीय आवश्यकता र उपयोग बढ्दै गएको सन्दर्भमा ‘प्लास्टिकलाई चिनौं’ भन्ने मूल नाराका साथ यस मेलाको आयोजना गरिन लागेको छ । यस मेलाको तयारी र व्यवस्थापन कम्पनी छनोट लगायतको कामका लागि प्लास्ट नेपाल फाउन्डेसनका कोषाध्यक्ष विवेक तातेडको संयोजकत्वमा प्लास्ट नेपाल फाउन्डेसनका सञ्चालक समिति सदस्यहरु पवनकुमार संचेती र बैंकटेस मुन्दडा सम्मिलित मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ ।