कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५
498

नेपाल टेलिकमले पछिल्लो एक वर्षयता म्याग्दीका दुर्गम छ ठाउँमा बीटीएस स्थापना गरेर सेवा विस्तार गरेको छ । दुर्गम र बिकट क्षेत्रमा सञ्चार सुबिधाको पुहँच स्थापित गराई सूचना आदान प्रदानमा स्थानीयवासीलाई सहजता प्रदान गर्ने उद्देश्यले बीटीएस स्थापना गरेर मोबाइल सेवा विस्तार गरेको हो ।
मालिका गाउँपालिका ३ किटीनी, ७ बिम, धवलागिरी गाउँपालिकाको मुना, रघुगंगाको बेगखोला, मंगलाको बाबियाचौर र बेनी नगरपालिका २ ज्यामरुककोटको कोतडाँडामा नयाँ बिटीएस टावर स्थापना गरेर सेवा विस्तार गरेको टेलीकमका शाखा प्रमुख विष्णुदेव शाहले बताए । पछिल्लो पटक सञ्चालनमा आएको ज्यामरुककोटको टावरबाट भकुण्डे, गौस्वाँरा, बागलुङ मालिका, रत्नेचौर र मिलनचोक क्षेत्रका मोवाईल प्रयोगकर्ता लाभान्वित भएका छन् । मंगला गाउँपालिका ३ झाँक्रेपानीको डाँडामा थप एकवटा बीटीएस टावर सञ्चालनमा ल्याउने तयारी गरेको टेलीकमले रघुगंगा गाउँपालिकाको कुइनेमंगलेमा पनी सेवा विस्तारको तयारी गरेको छ ।
हाल म्याग्दीमा नेपाल टेलीकमले २५ वटा मोवाईल, ५ वटा सीडीएमए र ४ वटा वाइम्याक ईन्टरनेट टावर सञ्चालनमा ल्याएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा एसटिएन प्रविधिको तारजडित टेलिफोन विस्तार भएको छ । १ लाख १३ हजार जनसंख्याको बसोबास रहेको म्याग्दीको ८०.६ प्रतिशत जनसंख्यामा टेलीकमको सेवाको पहुँच पुगेको प्रमुख शाहले बताए । ७३ हजार ९४ मोबाइल, एक हजार ४८३ थान ल्याडलाइन फोन र १६ हजार २९० सीडीएमए वितरण गरेको छ ।