कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५
606

ओखलढुंगा-जिल्लामा कृषि तथा वनजन्य उद्योग दर्ता हुने क्रम बढेको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा गत आर्थिक वर्षमा दर्ता भएका उद्योगमध्ये यो वर्गका उद्योगको संख्या उल्लेख्य बढेको हो ।
गत आर्थिक वर्षमा जिल्लामा १६३ साना तथा लघु उद्योग दर्ता भएका छन् । जसमध्ये ८७ उद्योग कृषि तथा वनजन्य रहेका छन् । बाँकी ७६ उद्योग पर्यटन, सेवा, उत्पादन र निर्माणजन्य वर्गमा दर्ता छन् । अघिल्ला वर्षको तुलनामा पछिल्लो चरणमा व्यावसायिक ढंगबाट पशुपालन तथा कृषि पेशा गरेर फाइदा लिन सकिने भएका कारण किसान आकर्षित हुन थालेकाले कृषि तथा वनजन्य वर्गका उद्योग दर्ता हुने क्रम वृद्धि भएको घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत कपिलबहादुर अधिकारीले बताए ।

कृषि तथा वनजन्य वर्गका उद्योगमध्ये अधिकांशले बाख्रा, कुखुरा तथा बंगुरपालन गर्ने उद्देश्य लिएका छन् । तरकारी, मौरीपालन, मछिनो तेल उत्पादन, फर्निचरजन्य सामग्री उत्पादन र कृषिजन्त सामग्री उत्पादन गर्ने उद्देश्य लिएका उद्योगको संख्या भने तुलनात्मक हिसाबले न्यून छ ।
गत आर्थिक वर्षमा घरेलु कार्यालयमा दर्ता भएका उद्योगको कुल पुँजी, स्थिर पुँजी र चालू पुँजी पनि बढेको छ । सो आर्थिक वर्षमा १२ करोड ३९ लाख ६१ हजार ४७२ रुपैयाँ कुल पुँजी पुगेको छ । जसमा पाँच करोड ३७ लाख ९९ हजार १३९ रुपैयाँ स्थिर पुँजी र ७ करोड १६ लाख २ हजार ३३४ रुपैयाँ चालू पुँजी छ ।
आव ०७३/७४ मा घरेलु कार्यालयमा १११ उद्योग दर्ता भएका थिए । जसमा कृषि तथा वनजन्य वर्गमा दर्ता भएका उद्योग ४२ वटा थिए । उक्त आवको उद्योगमा ५ करोड ७३ लाख ३३ हजार ७०० रुपैयाँ कुल पुँजी, २ करोड ९८ लाख ७८ हजार ५५ र चालू पुँजी २ करोड ७४ लाख ५५ हजार ६४५ रहेको थियो ।
हाल ओखलढुंगामा दर्ता भएर सञ्चालनमा आएका उद्योगहरुको संख्या एक हजार ५५० पुगेको छ । वाणिज्यतर्फ दर्ता भएका फर्मको हालसम्मको संख्या भने ८०० नाघेको छ ।