कारोबार संवाददाता
बिहिवार, भदौ २८, २०७५
1173

सोलुखुम्बु-सोलुखुम्बुको नाम्चेमा कुखुराको अण्डा प्रतिगोटा ६६ रुपैयाँसम्ममा किनबेच हुने गरेको छ । पछिल्लो समय खाद्यान्न ढुवानी ठप्प भएपछि होटल व्यवसायीले एउटा अण्डा खरिदमा ६० रुपैँयाभन्दा माथि तिर्नु परेको हो ।
एक सातादेखि नयाँ सामान ढुवानी हुन नसक्दा पुरानो भण्डारणमा नै कालोबजारी भएको व्यवसायीहरुले आरोप लगाएका छन् । एक कार्टुन अण्डाको १४ हजार रुपैयाँसम्म किनबेच भएको नाम नबताउने सर्तमा एक व्यवसायीले बताए । कार्टुनमा २ सय १० वटा अण्डा हुने भएकाले प्रति अण्डा ६६ रुपैँया परेको हो ।

जबकि त्यही अण्डा सदरमुकाम सल्लेरीमा १५ रुपैँयामा किनबेच भइरहेको छ । नाम्चेमा अण्डाको यो दर चार गुणाले बढी हो । अण्डा अभावमा ग्राहकबाट अण्डाको आईटमको अर्डर नै लिन छाडेको स्थानीय होटल व्यवसायी छिमिकाल्देन शेर्पाले बताए ।
व्यवसायी शेर्पाले नाम्चेमा भएको कालो बजारी नियन्त्रण गर्न सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताए । त्यसैगरी नाम्चेमा अण्डा मात्रै नभएर तरकारी र खाद्यान्नको समेत अभाव छ । पर्यटकीय सिजन शुरु भएर होटल खोल्न आएका व्यवसायीहरु तरकारी अभावमा व्यवसाय चलाउन नसक्ने अवस्थामा पुगेको बताउँछन् ।
अहिले नाम्चेका ८० प्रतिशत होटलहरु सञ्चालनमा आइसकेका अर्का व्यवसायी लामाकाजी शेर्पा बताउँछन् । उनले सामग्री अभावले अहिले होटलहरुमा दाल तरकारी पाक्न सक्ने अवस्था नभएको बताए । प्रतिकुल मौसमले हवाइ उडान हुन नसक्नु र विमानले कार्गो उडान नभर्नुले पनि खाद्यान्न अभाव भएको हो ।
-अमृता राई