कारोबार संवाददाता
बिहिवार, भदौ २८, २०७५
265

प्चेश्वर गाँउपालिका–१ घ्याङफेदीको चेताङमा पहिरो गएपछि त्यहाँ फसेका बृद्ध दम्पत्तिलाई नेपाली सेनाले हेलिकप्टर मार्फत बुधबार राती उद्धार गरेको छ । युद्धभैरव गण काठमाडौका सहसेनानी महेन्द्रचन्द ठकुरीको नेतृत्वको विशेष टोलीमा रहेका नेपाली सेनाले पहिरोमा फसेका ७३ वर्षीय दोर्जे शेर्पा र उनको श्रीमति ४२ वर्षीया याङ्चेन शेर्पालाई उद्धार गरी विदुर ल्याएको हो । उनीहरुको सैन्य तालीम केन्द्र मैथली ब्यारेकमा नेपाली सेनाको चिकित्सकहरु बाट उपचार भइरहेको छ ।
बुधबार बिहान बस्ती माथीबाट आएको पहिरोले घर लडाएपछि खुल्ला स्थानमा वर्षाको पानीले भिजेर बसेको, चारैतिरबाट पहिरोले घेरेपछि अत्तालिएर कमजोर भएको शरीरमा उपचार पश्चात अबस्था सामान्य हुदै आएको सैन्य तालीम केन्द्रका प्रमुख महासेनानी रबिन्द्र केसीले जानकारी दिए ।

अबिरल वर्षासगै बगेको पहिरोले पाँच घरमा क्षति पुराएको र ती घरका अरु मानिसहरु भागेर सुरक्षित स्थानतर्फ लागेपनि दोर्जे र उनको श्रीमति भाग्न नसकि पहिरोमा फसेको खबर पाएपछि नेपाली सेनाको मुख्यालयसंगको समन्वयनमा उहाँहरुको उद्धार गरिएको श्रीनाथ गणका गणपति अञ्जन रुपाखेतीले जानकारी दिए ।
उनको अनुसार पहिरोमा फसेकालाई उद्धारको लागी भौगोलिक कठिनाई, निरन्तर परिरहेको वर्षा, कुहिरो र हुस्सु सहित साँझ ६ बजेदखि सुरु गरी एक घण्टा ३० मिनेटको प्रयासमा सफल भएको हो ।
पहिरोमा फसेको जानकारी स्थानीयले दिएपछि उद्धारको लागी सैनिक हेलिकोप्टरका क्याप्टेन महासेनानी कुशलकुमार गुरुङ, युद्धभैरव गण काठमाडौबाट आएको सहसेनानी महेन्द्रचन्द ठकुरीको नेतृत्वको विशेष टोलीका सैनिकहरु श्याम विष्ट, मोहन दाहाल, दिलबहादुर श्रेष्ठ, नवराज पाण्डे सहितले बृद्ध दम्पत्तिलाई उद्धार गरी उपचारको लागी विदुर ल्याएको हो ।
विशेष फोर्सको तालीम लिएका सैनिके ‘मंकी रोप’ मार्फत (डोरीबाट तल झरेर उडिरहेको हेलिकोप्टरमा झुण्डिई) पहिरोमा फसेकालाई उद्धार गरी ‘स्पाइसी रोप’द्धारा (झुण्डाएर) २२ कोषको दुरी (घ्याङफेदीदेखि सैन्य तालीम केन्द्र विदुर)सम्म ल्याएका हुन् ।
नेपाली सेनाले विपद्को समयमा गर्ने उद्धारको लागी विशेष फोर्स तालीम पश्चात घ्याङफेदीको परिचालनलाई सूचना पाएको छोटो समय, भौगोलिक कठिनाई, अध्यारो वातावरण, उद्धार गर्नुपर्ने व्यक्तिहरु ओढारमा बसिरहेकाले खोज्नको लागी लागेको समय लगायतका कारण ठूलो उपलब्धीको रुपमा लिएको सह–सेनानी ठकुरीले बताए ।
पहिरोले चेताङमा कामी शेर्पा, सोनम शेर्पा, आङबाबु शेर्पा, सनम शेर्पा र पुतली शेपाको घर पूर्ण रुपमा क्षति पुराएको छ भने ती घरमा रहेका अन्नपात, भाडावर्तन, धनसम्पत्ति, पशु–चौपाय समेत त्यही छोडेर मानिसहरु सुरक्षित स्थानतर्फ लागेकाले क्षतिको विवरण एकीन नभएको गाँउपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिए ।
उनको अनुसार पहिरोले चेताङ भन्दा तल्लोगाँउ घ्यावर बस्तीलाई समेत जोखिम बनाएको छ । त्यहाँ ४० भन्दा बढी घरपरिवार बसोबास गर्दै आएकाले अन्यत्र जाने स्थान नहुदाँ उनीहरु अहिलेपनि जोखिम बस्तीमा नै बस्न बाध्य भएका छन् ।