कारोबार संवाददाता
बुधवार, आश्विन ३, २०७५
340

रामेछाप-जिल्लाको खाँडादेवी गाउँपालिकामा थामी समुदायका बालबालिका पढ्ने विद्यालयमा रेकर्ड हेर्ने हो भने प्रवेशिका परीक्षा उत्तीर्ण हुने बालबालिकाको अभिलेख नै पाउन सकिँदैन । अतिसीमान्तकृत जातिको रूपमा रहेको थामी समुदायका बालबालिका विद्यालयमा पढ्न जाने भए पनि विद्यालय छाडने संख्या पनि बढ्दै गएको छ ।
सुरुमा थामी समुदायमा विद्यालय जाने उमेरका अधिकांश बालबालिका विद्यालयमा भर्ना हुने गरेको भए पनि पछि कक्षा उत्तीर्र्ण हुँदै जाँदा पढाइ छाडने दर पनि बढेको हो । माथिल्ला कक्षामा थामी समुदायका बालबालिका भेटाउन मुस्किल पर्ने गरेको श्री कृष्ण मावि टिमु खाँडादेवीका शिक्षक राजुश्री घिमिरे बताउँछन् ।

थामी समुदायका बालबालिकालाई पढ्नका लागि प्रोत्साहन गर्दा पनि उनीहरूमा जागरण ल्याउन नसकिएको कृष्ण माध्यमिक विद्यालय टिमुका प्रधानाध्यापक कुलबहादुर कार्कीले बताए । थामी समुदायका बालबालिकाका लागि पढाइमा अवरोध गर्ने भनेकै गरिबी र अशिक्षा नै देखिएको कार्कीले बताए । पारिवारिक र आर्थिक अवस्था कमजोर हुँदा थामी समुदायका बालबालिका ५÷६ कक्षामा पढन थालेसँगै खेताला जाने, रोजी रोटिका लागि काम गर्न बाहिर जाने गर्न थालेपछि बालबालिका विद्यालय जान छाडेकोे पाइएको छ । थामी समुदायमा सानै उमेरमा विवाह गरिदिने प्रचलनले पनि उनीहरूको पढाइ प्रभावित हुने गरेको प्रधानाध्यापक कार्की बताउँछन् । कार्कीले भने, “थामी समुदायको अभिभावक र बालबालिकालाई शिक्षाको महत्व नै बुझाउन सकिएन ।”
थामी समुदायका बालबालिका जसोतसो प्राथमिक शिक्षासम्म विद्यालय पुगेर पढ्छन् त्यही विद्यालयको पढाइमा नै उनीहरू निर्भर रहनु पर्ने अवस्था देखिएको छ । एउटा विद्यार्थीका लागि विद्यालयको पढाइले मात्र नपुग्ने भएकाले उसका लागि घरमा पनि शैक्षिक वातावरण बन्नु पढाइका लागि उपयुक्त र प्रभावकारी मानिन्छ । तर त्यस्तो किसिमको अवसर पाउनु थामी बालबालिकाका लागि मुस्किल छ । विद्यालयमा नै उनीहरू अतिरिक्त समय दिएर पढ्नु पर्ने अवस्था रहे पनि थामी समुदायका बालबालिकाले त्यस्तो समय पाउन सकेका छैनन् । एउटा विद्यार्थीले विद्यालयको पढाइसँगै घरमा समेत मेहनत गर्दा राम्रो सफलता पाउन सक्छ । तर थामी समुदायमा उच्च शिक्षा हासिल गरेका अभिभावक नै नहुँदा उनीहरूले घरमा पढ्ने सिक्ने र सिकाउने वातावरण नै पाउन सकेका छैनन् । प्राथमिक लेबलको पढाइ केही सहज भएता पनि माथिल्लो तह पढन जाँदा कठिन हुन थालेपछि थामी समुदायका बालबालिकाले पढाइ छाडने गरेका हुन् ।
गाउँपालिकाले अतिसीमान्तकृत थामी समुदायका बालबालिकाको अध्ययनमा प्रोत्साहन गर्ने भएको छ । गाउँपालिकाले उच्च शिक्षा दिलाएरै छाडने लक्ष्यका साथ उनीहरूको पढाइमा सहयोग गर्ने भएको अध्यक्ष प्रेमबहादुर तामाङले बताए । उनले वार्षिक बजेट अनुमान गरेर विनियोजन गर्ने प्रतिबद्धतासमेत ब्यक्त गरे । थामी समुदायका बालबालिका आफैं लागि पर्नुपर्ने र अभिभावकले पढ्ने वातावरण सिर्जना गरी विद्यालयसम्म पढ्न पठाउने व्यवस्था मिलाई दिन तामाङले अभिभावकसँग आग्रह पनि गरेका छन् ।
खाँडादेवी गाउँपालिका–७ मा रहेका ३ वटा विद्यालयमध्ये कृष्ण माध्यमिक विद्यालय टिमुमा २१, सेतीदेवी आधारभूत विद्यालयमा १९ र गौरीशंकर आधारभूत विद्यालयमा २६ जना गरी ६६ जना थामी समुदायका बालबालिका अध्ययन गर्दै आएका छन् ।