कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५
219

नेपालगन्ज-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वर्तमान सरकारले देशलाई उर्जा र सिँचाइमा अब्बल बनाउने अभियान सुरु गरेको बताएका छन् । उनले यी दुवै क्षेत्रमा देश अब्बल बन्ने हो भने नेपाल आर्थिक रूपमा एस्यिाकै बलियो देश बन्ने बताए ।
बाँकेको कुसुममा सामुदायिक ग्रामीण विद्युतीकरण अन्तर्गत निर्माण गरिएको विद्युत् सबस्टेसनको उदघाटन र विद्युत् सप्लाइको शुभारम्भ गर्दै मन्त्री पुनले नेपालजस्तो कृषि प्रदान देशमा ऊर्जा र सिँचाइको विकास अति आवश्यक रहेको बताए । उनले किसानका खेतवारीमा सिँचाइ र विद्युत् पुराउन सके नेपालमा भएको उत्पादन बिक्री गरेर आर्थिक क्रान्ति गर्न सकिने दाबी गरे ।

वर्तमान सरकारले जलविद्युत् र सिँचाइका सबै राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न विशेष ध्यान दिएको जनाउँदै केही आयोजना निकै सुस्त र विवादास्पद बन्दै गएकाले त्यसमा सुधार ल्याइने बताए । उनले सरकारले ऊर्जाका लागि विशेष रूपले काम गरिरहेको जनाउँदै देशका सबै स्थानमा छिटोभन्दा छिटो विद्युत् पुराउने अभियानमा मन्त्रालय अहोरात्र खटेको सो अवसरमा प्रष्ट पारे ।
राजमार्गमै भए पनि लामो समयदेखि यहाँका बासिन्दा विद्युत्बाट वञ्चित रहेकोले वर्तमान सरकारले दु्रत गतिमा सबै काम गराएर दसैं अगावै कुसुमवासीका घर विद्युत्ले झलमल बनाएको मन्त्री पुनले बताए । लामो समयको प्रतीक्षा र प्रयासपछि महेन्द्र राजमार्गमै रहेको पुरानो बस्ती कुसुमबजारमा बिजुली बलेको छ । कुसुममा बिजुली बलेपछि लामो समयदेखि बिजुली बाल्ने कुसुमवासीको सपना पुरा भएको हो ।
आफ्नो गाउँमा विद्युत्को सबस्टेसन बनेको ५ वर्षपछि राप्ती सोनारी–१ कुसुमका जनताले बत्ती बाल्न पाएका छन् । बाँकेको पूर्वी कुसुम ११ केभी र पश्चिम दाङ १३२ केभी लाइन विस्तार गर्नका लागि २०७० सालमा सबस्टेसन निर्माण भएको भए पनि हालसम्म १ किलो मिटरको दूरीमा रहेको गाउँमा बत्ती बलेको थिएन ।