कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५
449

पाल्पा-जिल्ला सदरमुकाम तानसेनमा निस्कने फोहर वनदेवी क्षेत्रमा जथाभावी रूपमा फाल्दै आएकोमा स्थानीयले रोक लगाएका छन् । स्थानीय फोहर मैला प्रभावित क्षेत्रका बासिन्दाको भेला बसेर नगरपालिकाले फाल्दै आएको अव्यवस्थित डम्पिङ र फोहरलाई फाल्न रोक लगाएका हुन् । उनीहरूले फोहर फाल्न गएको ट्याक्टरलाई समेत फिर्ता पठाएका छन् । स्थानीय दिनेश रावल, राजेन्द्र अधिकारी, चिरिञ्जीवी घिमिरे, विष्णुप्रसाद अधिकारीलगायतका ४२ जना उपभोक्ताले वनदेवी क्षेत्रमा फोहर फाल्न रोक लगाउने निर्णय गरेका हुन् ।
स्थानीय निर्वाचनको समयमा १ महिनाभित्र फोहर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका नगरप्रमुख अशोककुमार शाहीले फोहर व्यवस्थापनको विषयमा कुनै पहल नगरेको, फोहरले स्थानीयलाई दैनिक जीवनयापनमा समस्या पारेको भन्दै स्वतःस्फूर्त रूपमा स्थानीयले फोहर फाल्न रोक्ने निर्णय गरेका छन् । स्थानीय दिनेश रावलले भने, “हाम्रो मागलाई बेवास्ता गरिएमा आन्दोलन गर्न बाध्य हुनेछौं ।”

वनदेवी क्षेत्रको सामुदायिक वनको जग्गामा अव्यवस्थित रूपमा फोहर फाल्दा सिदुरे, धरमपानी, होलाङ्दी हुँदै प्रभास, बाँसटारी, तेल्घालगायतका स्थानीयको खेतमा फोहर पसेको, पानीका मुहान सुक्दै गएको, राजमार्गमा हिँड्डुल गर्न सकस परेको, कैलाशनगर, वसन्तपुर, बतासे, टक्सार क्षेत्रका स्थानीयलाई विभिन्न सरुवा रोग लाग्ने गरेकोले बाध्य भएर फोहर फाल्न निषेध गरिएको छ । स्थानीय राजेन्द्र अधिकारीले भने, “नगरपालिकाले स्थानीय वन क्षेत्र, पर्यटकीय तथा धार्मिक स्थल वनदेवीको समेत अस्तित्व नामेट हुने गरी फोहोर फालेकाले बाध्य भएर फोहर फाल्न रोक लगाएका छौं ।”
नगरपालिकाले करोडौं खर्च गरेर तानसेन–५ शिवपोखरीमा ल्यान्डफिल्ड साइट निर्माण गरेको भए तापनि त्यो प्रयोगमा नआउँदै बन्द अवस्थामा छ । स्थानीय तेल्घा, धरमपानी, सेतीपोखरी, गढशाललगायतका स्थानीयले अव्यवस्तिथ रूपमा फोहोर फ्याँकेको, नगरपालिकाले स्थानीयसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै फोहर फाल्न रोक लगाएका थिए ।
अहिले तानसेनबाट दैनिक निस्कने १० टन बढी कुहिने र नकुहिने फोहर वनदेखि क्षेत्रमा अव्यवस्थित रूपमा फालिँदा तानसेनको सुन्दरता समेत कुरुप बनेको छ भने प्रदूषण बढ्दै गएको छ । नगरपालिकाले फोहरको उचित व्यवस्थापनको लागि पहल नगरेको भन्दै स्थानीय पटकपटक आन्दोलनमा उत्रिएका थिए । ल्याण्डफिल्ड साइटको विषयमा समेत उच्च अदालत तुल्सिपुरको बुटवल इजालसमा मुद्दा परेको छ सो मुद्दाको सुनुवाइ नभएकाले फोहर फाल्ने विषयमा अन्य निर्णय गर्न नसकेको नगरपालिकाले जनाएको छ ।
बजारमा प्रदूषण बढ्यो
स्थानीयले नगरपालिकाले फाल्दै आएको फोहर फाल्न निषेध गरेपछि त्यसको असर तानसेन बजारमा समेत परेको छ । बजारको गल्ली, चोक र घरघरमा समेत फोहर थुप्रिएर पर्यटकीय नगरीको नाम पाउने तानसेन प्रदूषित हुने गर्दछ । त्यसैले त्यस विषयमा नगरपालिकाले गम्भीर रूपमा कदम चाल्नु पर्दछ । तानसेनका स्थानीयसमेत फोहरको उचित व्यवस्थापन गर्नबाट पछि हटेने गर्दछन् । तानसनेका घर मालिकहरू आफ्नो घरको फोहर अरुको घरअगाडि लगेर फाल्ने, सार्वजनिक स्थानमा फाल्ने, घरको छतबाट रातिमा बाटोमा फाल्ने पानी परेको समयमा सडकमा फाल्ने गर्दा बजारसमेत प्रदूषित बन्ने गरेको छ ।
विकल्प खोज
तानसेनमा निस्कने दैनिक १० टन बढी फोहरको उचित विर्सजनका लागि तानसेन नगरपालिकाले उपयुक्त विकल्प निकाल्नु पर्दछ । वनदेवीइ क्षेत्र, शिवपोखरीको ल्याण्डफिल्डको विकल्पमा अन्य वैकल्पिक क्षेत्रमा फोहरको विर्सजन गर्नु आवश्यक छ । स्थानीय तहसँगै फैलिएको तानसेनको भूगोलले अब त्यहाँको फोहर व्यवस्थापन पनि मुख्य चुनौतीको रूपमा रहेको छ । स्थानीय तहको निर्वाचनको बेलामा गरेको प्रतिबद्धताको कार्यान्वयन अहिले जनताले सरकारबाट खोजी रहेका छन् । त्यसको लागि नगर सरकारले उचित पहल कदम चाल्नु पर्दछ ।
दसैंको मुखमा आएर स्थानीयले फोहर फाल्न रोक लगाउनु दुःखद भएको नगरप्रमुख अशोककुमार शाहीले बताए । उनले मागका विषयमा स्थानीयलाई छलफलमा बोलाएर आवश्यक निकास खोजिने बताए । उनले आफूले गरेको प्रतिबद्धतालाई क्रमशः कार्यान्वयन गर्ने चरणमा रहेकाले नआत्नि आग्रह गरे ।