अनुपमा खनाल
बुधवार, आश्विन २४, २०७५
335

गोरखा-अन्न कुट्न तथा पिस्न प्रयोग गरिने ढिकीजाँतो हराउँदै गए । पहिले घरैपिच्छे जसो भेटिने ढिकीजाँतो आजभोलि गाउँ भरि खोज्दा पनि त्यति पाइँदैन । त्यसैले गोरखा नगरपालिक–१२ ले ढिकीजाँतोलगायत पुराना सामग्रीको संरक्षण थालेको छ ।
वडा कार्यालयबाट बजेट नै छुट्याएर त्यस्ता सामग्री संकलन तथा उपयोग गर्न थालिएको वडाध्यक्ष दिलबहादुर थापाले जानकारी दिए । पुरानो रीतिरिवाज जगेर्ना गरी नयाँ पुस्ताको अभिरुचि बढाउन परम्परागत सामग्री जगेर्ना गर्न थालिएको वडाअध्यक्ष थापाले बताए । “पितापुर्खाले प्रयोग गरेका सामान हराउँदै गएकाले मौलिकता जोगाउन संरक्षणमा जुटेका हौं,” उनले भने, “ढिकीजाँतो, कोल स्थापना गरिदिएपछि पैसा नभएका गाउलेले यहाँ आफ्नै श्रमले पिनेर खानसक्नुहुन्छ । पुराना चिजको पनि संरक्षण भयो ।” ताजा, पौष्टिकयुक्त र स्वस्थ्य खानाका लागि पनि ढिकीजाँतो उपयोगी रहेको उनको भनाइ छ । “ढिकीजाँतोमा पिनेको अन्नमा कुनै मिसावट हुन्न,” उनले भने, “मिलमा कुटेको चामलमा धेरैजसो पौष्टिक तत्व खेर जान्छ तर ढिकीमा कुटेको चामलको पौष्टिक तत्व कायम हुन्छ । कोलमा पेलेको तेलमा पनि कुनै केमिकल परेन । जाँतोमा अन्न पिसेर रोटी, खोले खान सकियो । शुद्ध र स्वस्थ्य हुन्छ ।”

वडा कार्यालयको सहयोगमा स्थानीय रानीटार टोलविकास संस्थाले ढिकीजाँतो र तोरी पेल्ने कोलको संरक्षण थालेको हो । त्यस्ता सामग्रीको संरक्षण र प्रयोगका लागि वडा कार्यालयले गत वर्ष ५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । सो रकमबाट ढिकीजाँतो र तोरी पेल्ने कोल निर्माण गरी टोल विकास संस्थाको कार्यालयनजिकै छुट्टै भवन बनाएर स्थापना गरिएको छ । भवन निर्माण पूरा गरी तारजाली लगाउन चालू आवमा थप ३ लाख रुपैयाँ विनियोजन गरिएको छ । वडा नम्बर १२ मा कुमाल जातिको बाक्लो बसोबास छ । उनीहरूको माटोका भाडा बनाउने परम्परालाई जोगाई राख्ने लक्ष्य पनि वडा कार्यालयको छ । त्यसका लागि कुमाल समुदायका एक जनालाई वडा कार्यालयकै खर्चमा तालिम गराइएको छ ।
यस्ता सामग्रीको मिनी संग्रहालय बनाएर सबैलाई प्रदर्शन गराउने लक्ष्य रहेको वडाअध्यक्ष थापाले जानकारी दिए । “कुमाल जातिको भाषा, सस्ंकृति नाचगान संरक्षण गर्ने सोच छ,” उनले भने, “यो क्षेत्रलाई पिकनिक स्पटका रूपमा विकास गरी पर्यटकीय क्षेत्र बनाउने योजना हो ।”